घट्यो सार्वजनिक यातायातको भाडादर

इनेप्लिज २०७१ माघ २७ गते ११:४८ मा प्रकाशित

काठमाडौँ, २७ माघ । पेट्रोलियम पदार्थमा निरन्तर मूल्य घटेपछि सरकारले बुधबारदेखि लागु हुने गरी सार्वजनिक यातायातका साधनको भाडा घटाएको छ ।

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले सरोकार भएकाहरुसँग छलफल गरी सार्वजनिक यातायातमा २.०३ प्रतिशतले भाडा घटाएको जनाएको छ । मन्त्रालयका सचिव तुलसीप्रसाद सिटौलाले ट्याक्सीमा १.६ प्रतिशत र ट्रकमा पाँच प्रतिशतले भाडा घटाउने निर्णय गरिएको जानकारी दिनुभयो । त्यसैगरी पहाडी जिल्लामा चल्ने सार्वजनिक यातायातमा ४.३७ प्रतिशत र तराईमा ढुवानी गर्ने ट्रकमा भने ५.२८ प्रतिशतले भाडा घट्नेछ ।

काठमाडौँ उपत्यकामा चालु आवको पुसमा तोकिएको भाडादरमा रु एक घटेर न्यूनतम नयाँ भाडा रु १३ देखि अधिकतम रु २५ सम्म कायम गरिएको छ ।

प्रतिक्रिया