त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधार परियोजनाअन्तर्गत काठमाडौँका तीन क्षेत्रको धावनमार्ग विस्तार

इनेप्लिज २०७१ माघ २५ गते १२:०३ मा प्रकाशित

TIA-Tribhuvan-International-Airport-runwayकाठमाडौँ, २५ माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधार परियोजनाअन्तर्गत काठमाडौँको गुह्येश्वरी, जडीबुटी र कोटेश्वर क्षेत्रको धावनमार्ग विस्तारका क्रममा छन् ।

उक्त परियोजनाको ‘आइसिबी १’ अन्तर्गतको कार्यक्रम अहिले सञ्चालन भइरहेको छ ।

‘आइसिबी १’ को योजनाअनुसार विमानस्थलको धावनमार्ग र हवाइजहाज पार्किङस्थल विस्तारको काम भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता देवेन्द्र केसी बताउनुहुन्छ ।

जडीबुटी र कोटेश्वर क्षेत्रमा ३०० मिटरको धावनमार्ग विस्तार गर्ने योजना छ । यसअनुसार अहिले २५ मिटरको खाडल पुर्ने काम भइरहेको छ । त्यस्तै, गुह्येश्वरी क्षेत्रअन्तर्गत हवाइजहाज पार्किङका लागि २२ मिटर खाडल पुर्ने काम भइरहेको प्रवक्ता केसी बताउनुहुन्छ ।

जडीबुटी र कोटेश्वर क्षेत्रमा विस्तारसम्बन्धी काम धमाधम भइरहेको छ । नेपालमा अन्तर्राष्ट्रिय विमानस्थल हाल एउटैमात्र भएको हुँदा दिवा समयमा विस्तारको काम गर्दा असर पुग्ने भएकाले रात्रि समयमा मात्रै काम गर्नुपर्ने बाध्यता रहेको केसीको गुनासो छ ।

“एप्रोच लाइट हटाउने काम रातिमात्रै भइरहेको छ, यसले गर्दा काम ढिलो रुपमा अघि बढिरहेको छ,” उहाँले भन्नुभयो । निकट भविष्यमा सो धावनमार्गलाई ट्याक्सी मार्गसँग समानान्तर रुपमा जोड्ने योजना रहेको छ ।

गुह्येवरीतर्फ धावनमार्गको विस्तारपछि २० वटाभन्दा बढी हवाइजहाज पार्किङ गर्न सकिने बताइन्छ । यसका लागि त्यहाँ माटो ओसारपसारको काम भइरहेको छ ।

विमानस्थल सुधार परियोजनाअन्तगर्तको पहिलो परियोजना सन् २०१३ देखि सन् २०१७ सम्ममा सम्पन्न गर्ने समयसीमा भएपनि लक्ष्यअनुसारको काम भने हुन सकिरहेको छैन । यसो हुनुमा देशमा हुने राजनीतिक, आर्थिक, प्राकृतिक, सामाजिक तथा सांस्कृतिक पक्षले असर पारेको प्रवक्ता केसीको भनाइ छ ।

यद्यपि तोकिएको समयसीमाभित्रै परियोजना सम्पन्न गर्ने प्रतिबद्धता नेपाल नागरिक उड्डयन प्राधिकरणको छ । आगामी दिनमा दुईवटा कन्भेयर बेल्ट थप्ने योजना प्राधिकरणको छ । यसका लागि आइनेको कम्पनीले बोलपत्र हाल्ने सहमति जनाइसकेको छ ।

उपलब्ध सीमित स्रोत र साधनको उच्चतम प्रयोग गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले सन् २०१० देखि सन् २०२८ सम्ममा सम्पन्न गर्ने गरी विमानस्थल सुधार गुरुयोजना ल्याएको थियो ।

सो गुरुयोजनामा सिमिकोट र राराको विमानस्थलसमेत सुधार गर्ने कार्यक्रम छ । यसका लागि तीन चरणमा कार्यक्रमलाई छुट्याइएको छ । पहिलो चरणअन्तर्गतको आइसिपी १ को कामलाई बढी प्राथमिकता दिइएको छ भने पहिलो चरणकै आइसिबी २ को काम भने समापन भइसकेको छ ।

आइसिबी १ को कार्यक्रम सन् २०१७ मार्च १६ मा सम्पन्न हुनेछ । यो परियोजनाका लागि ६१ मिलियन अमेरिकी डलर बजेट छुट्याइएको छ । यो रकम एसियाली विकास बैंकबाट ऋणस्वरुप प्राप्त भएको छ ।

यसमा सान जोसे र एसए स्पेनले करारमा काम गरिरहेका छन् । त्यस्तै, जापान एयरपोर्ट कन्सल्टेन्ट र जिइओसिइ कन्सल्टेन्टका रुपमा काम गरिरहेका छन् ।

प्रतिक्रिया