बसको ठक्करबाट एक विद्यार्थीको मृत्यु, २८ जना घाइते

इनेप्लिज २०७१ माघ २१ गते ९:५७ मा प्रकाशित

san_110912_cycleसुरुङ्गा (झापा), २१ माघ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत झापाको तोपगाछी सडकखण्डमा आज भएको सवारी दुर्घटनामा परी छ वर्षीय बालकको मृत्यु भएको छ भने अन्य २८ जना घाइते भएका छन् ।

काँकरभिट्टाबाट यात्रु लिएर विराटनगरतर्फ जाँदै गरेको मे १ ख ९१६ नम्बरको यात्रुबाहक बसले साइकललाई ठक्कर दिँंदा साइकलमा सवार तोपगाछी–७ निवासी छ वर्षीय बालक शैलेश बाँनियाको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

स्थानीय धर्मभक्त माविमा अध्ययनरत् उनलाई दिदी सेलिना बाँनियासँग साइकलमा चढेर विद्यालय जाँदै गर्दा बसले ठक्कर दिएको बताइएको छ ।

बसको ठक्करबाट शैलेशकी १५ वर्षीया दिदी सेलिनासमेत गम्भीर घाइते भएकाले स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल पठाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका हबल्दार याम खड्काले जानकारी दिनुभयो ।

तीव्रगतिमा रहेको उक्त बसले साइकलले बाटो काट्ने क्रममा ठक्कर दिएको बताइएको छ । साइकललाई ठक्कर दिँंदा बससमेत पल्टिएकाले बसमा सवार अन्य २७ यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये शिव सताक्षी नगरपालिकास्थित झिलझिले निवासी ३५ वर्षीय राजेश श्रेष्ठ, मोरङ बेलवारीका ४० वर्षीय पुना खनालको अवस्था गम्भीर रहेकाले उनीहरुलाई पनि विराटनगरस्थित न्युरो अस्पताल पठाइएको र घाइते अन्यको दमकस्थित स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बसको ठक्करबाट विद्यार्थीको मृत्यु भएपछि मृतकका आफन्त र स्थानीयले बिहान १० बजेबाट पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन् ।

प्रतिक्रिया