ऐतिहासिक पाल्पा दरबार अब सङ्ग्रहालय

इनेप्लिज २०७१ माघ २१ गते १:२७ मा प्रकाशित

palap-darbarपाल्पा, २१ माघ । तानसेनस्थित ऐतिहासिक पाल्पा दरबार अब सङ्ग्रहालय बन्ने भएको छ ।

स्थानीय शान्ति समिति पाल्पाले तानसेनमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा विगतका भएका छलफल र निर्णयका आधारमा दरबारलाई सङ्ग्रहालयका रुपमा विकास गर्दा जिल्लाको विकास अघि बढ्ने निष्कर्ष निकालिएको छ ।

पाल्पाका सभासद्, जिल्लामा क्रियाशील राजनीतिक दल, सरकारी कार्यालय, नागरिक समाज र सञ्चारकर्मी सहभागी सो कार्यक्रममा पाल्पा दरबार र दरबार परिसरलाई सङ्ग्रहालय बनाउन सर्वसम्मत निर्णय भएको हो ।

यसैगरी सङ्ग्रहालयका लागि आवश्यक जनशक्ति र बजेटको व्यवस्था गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पुरातत्व विभाग र अन्य निकायलाई अनुरोध गर्ने, सङ्ग्रहालयको गुरु योजना तयार गर्न स्थानीय राजनीतिक दल र सरोकारवालासँग समन्वय गर्ने निर्णय गरिएको छ ।

अन्तक्र्रियामा सभासद्हरु सोमप्रसाद पाण्डेय र तुलसा राना, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सहसचिव उमाकान्त पराजुली, पाल्पाका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्की, शान्ति मन्त्रालयका डिभिजन इन्जिनियर ध्रुव पौडेल र शान्ति समितिका सदस्य तथा जिल्ला विकास समितिका पूर्व सभापति प्रेमनाथ बस्यालले सङ्ग्रहालय स्थापना गर्न सके ऐतिहासिक सम्पदालाई बचाउन र संस्कृतिको संरक्षण गर्न सकिने बताउनुभएको थियो ।

प्रतिक्रिया