बुधबारदेखि जनकपुर क्षेत्रमा नोबेल ग्यासको आपूर्ति सहज हुने

इनेप्लिज २०७१ माघ १९ गते ४:२५ मा प्रकाशित

LP_gas_cilinderजनकपुरधाम, १९ माघ । केही महिनायता देखि जनकपुरमा चरम अभाव भएका खाना पकाउने एलपी ग्यासको आपूर्ति बुधबारदेखि सहज हुने भएको छ ।

भारतको विभिन्न नाकाबाट आउने गरेको नोबेल ग्यासको ट्याङ्कर मङ्गलबार नक्टाझिझ आइपुगेपछि बुधबारदेखि धनुषा जिल्लामा खाना पकाउने ग्यासको आपूर्ति सहज हुने बताइएको छ ।

नोबेल ग्यास उद्योग प्रालि नक्टाझिझका सञ्चालक भैरव क्षेत्रीका अनुसार नोबेल ग्यास आयात हुने चारवटा नाकामध्ये बरौनीबाट गत माघ १५ र १६ गते लोड भएको दुई–दुईवटा ट्याङ्कर गरी जम्मा चारवटा ट्याङ्कर, माघ १३ गते मथुराबाट लोड गरिएको एकवटा ट्याङ्कर, हल्दियाबाट लोड गरिएको दुईवटा ट्याङ्कर र करुणाबाट एकवटा ट्याङ्कर नक्टाझिझ ग्यास उद्योगका लागि लोड गरिएको छ ।

मङ्गलबार नोबेल ग्यास उद्योग नक्टाझिझमा आउने आठवटा ट्याङ्करमा जम्मा आठ हजार ग्यास सिलिन्डर रहेको छ जसमध्ये ६ हजार ग्यास सिलिन्डर जनकपुर सहरमा र बाँकी दुई हजार ग्यास सिलिन्डर ग्रामीण भेगका डिलरलाई उपलब्ध गराउने उहाँले बताउनुभयो ।

गएको केही महिनादेखि एलपी ग्यासको अभावका कारण उपभोक्ता अत्यधिक मारमा परेका छन् । ग्यासको अभाव सिर्जना भएलगत्तै व्यापारी कालोबजारी गरिरहेका छन् भने तोकेको मूल्यभन्दा बढी रकम तिरेर ग्यास लिन उपभोक्ता बाध्य भएका छन् ।

ग्यासको कालोबजारी हटाउन प्रशासनले विभिन्न प्रयास थाले पनि कालोबजारी भने यथावत् नै रहेको देखिएको छ ।

प्रतिक्रिया