गर्भवती महिला र नवजात शिशुको जीवनरक्षाका लागि कोष खडा

इनेप्लिज २०७१ माघ १९ गते ४:१९ मा प्रकाशित

Pregnant-women_03_20140301125417खोटाङ, १९ माघ । जिल्लाको दक्षिणी गाविस चिप्रिङमा गर्भवती महिला र नवजात शिशुको जीवनरक्षाका लागि सामूहिक कोष खडा गरिएको छ ।

चिप्रिङका नौवटै वडामा क्रियाशील आमा समूहले गर्भवती महिला र नवजात शिशुलाई मृत्युबाट बचाउन सामूहिक बचत गरी सहयोग कोष खडा गरेका हुन् । २०६३ साल भदौमा गठन गरिएका नौवटा आमा समूहले हालसम्म आठ लाख दुई हजार १०९ रुपैयाँ रकम जम्मा गरिसकेका छन् । जटिल किसिमका समस्या देखिएका गर्भवती महिलालाई सदरमुकाम दिक्तेल, विराटनगर, काठमाडौँ वा अन्यत्र लैजान आवश्यक पर्ने आपतकालीन रकम जुटाउन सामूहिक बचत गरिएको आमा समुहले जनाएको छ ।

आर्थिक अभावमा अस्पतालसम्म पुग्न नसक्ने निम्न आर्थिकस्तर भएका गर्भवती महिलाको सहयोगका लागि सबै वडामा कोष खडा गरिएको समूहले जनाएको छ । बिरामीको प्रकृति तथा आर्थिक अवस्था हेरेर निम्न आर्थिकस्तरका गर्भवती महिलालाई निब्र्याजी रकम सहयोग गर्ने गरेको उप–स्वास्थ्यचौकी चिप्रिङका अनमी उर्मिला राईले बताउनुभयो ।

राईका अनुसार आमा समूहले आफ्नो सदस्यता लिएका महिलाबाट प्रतिव्यक्ति मासिक पाँच रुपैयाँका दरले रकम सङ्कलन गर्दै कोष खडा गरेका हुन् । उर्मिलाले भन्नुभयो–“गर्भवती महिला र बच्चाको जीवन बचाउका लागि आमा समूहले देउसी खेले, विदेश जाने गाउँलेबाट पनि सहयोग जुटाएर बचत गरेका छन्, कोष खडा गरिएपछि दर्जनौँ गर्भवती महिला र बच्चाको ज्यान जोगिइसकेको छ ।”

महिला र नवजात शिशुको जीवन बचाउका लागि चिप्रिङ–१ स्थित साचेखा आमा समूहले रु एक लाख ३७ हजार १९१, चिप्रिङ–२ स्थित हिमशिखर आमा समूहले रु एक लाख ७५ हजार ७५, चिप्रिङ–३ स्थित लालीगुराँस आमा समूहले  रु ९७ हजार २८८, चिप्रिङ–४ स्थित अजम्बरी आमा समूहले  रु एक लाख ५३ हजार ७८०, चिप्रिङ–५ स्थित सयपत्री आमा समूहले रु ३५ हजार बचत गरेका छन् ।

यस्तै चिप्रिङ–६ स्थित सम्झना आमा समूहले रु ७४ हजार ७७५, चिप्रिङ–७ स्थित प्रतिभा आमा समूहले रु ५३ हजार ५००, चिप्रिङ–८ स्थित नारीजागरण आमा समूहले रु ५५ हजार र चिप्रिङ–९ स्थित नवज्योति आमा समूहले रु २० हजार ५०० बचत गरिसकेका छन् ।

प्रतिक्रिया