पचहत्तर किलोमिटर वैकल्पिक पदमार्ग निर्माण

इनेप्लिज २०७१ माघ १३ गते ३:२० मा प्रकाशित

mustangमुस्ताङ, १३ माघ । सडक विस्तारका कारण प्रभावित मुस्ताङको पर्यटन प्रवद्र्धन गर्न ७५ किलोमिटर वैकल्पिक पदमार्ग निर्माण गरिएको छ ।

जिल्ला विकास समिति, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना र स्थानीय पर्यटन व्यवसायीको संयुक्त लगानीमा मुक्तिनाथदेखि म्याग्दीको नारच्याङसम्म वैकल्पिक पदमार्ग निर्माण गरिएको हो । म्याग्दीको बेनीदेखि मुक्तिनाथसम्म सडक सञ्चालनसँगै विश्वप्रसिद्ध राउन्ड अन्नपूर्ण पदमार्गअन्तर्गत पर्ने मुस्ताङको पर्यटन क्षेत्र प्रभावित बनेको थियो । पदयात्राका लागि आउने पर्यटक सडकमा हुने धुलोका कारण नारच्याङदेखि मुक्तिनाथसम्मका पदयात्रा गर्न छाडेका थिए ।

तीनवटै निकाय मिलेर पाँच वर्षसम्म क्रमागत रुपमा बजेट विनियोजन गरेर कालीगण्डकीको तिरैतिर वैकल्पिक पदमार्ग निर्माण गरिएको एक्याप मुस्ताङका प्रमुखका प्रमुख विदुर कुइँकेलले जानकारी दिनुभयो । उहाँका अनुसार वैकल्पिक पदमार्ग मुक्तिनाथको रानीपौवा, लुप्रा, जोमसोम, धुम्बाताल, छैरे, टिटी ताल हुँदै नारच्याङको पैराथाप्ला निस्कन सकिन्छ । “मोटरबाटोले अस्तव्यस्त यहाँका पर्यटन क्षेत्रलाई यो वैकल्पिक पदमार्गले फाइदा पुग्ने अपेक्षा लिएका छौं, सबै क्षेत्रको सहभागितामा निर्माण गरिएकाले यो प्रभावकारी हुन्छ”–एक्याप प्रमुख कुइँकेलले भन्नुभयो–“यसै सिजनदेखि उक्त पदमार्ग सञ्चालनमा आउनेछ ।”

वैकल्पिक पदमार्ग निर्माणसँगै मुस्ताङको कालापानी, पैरोथाप्ला, घासा, लेते, मार्फा, कागबेनीलगायत क्षेत्रका पर्यटन व्यवसायीले ती क्षेत्रमा आफ्नो व्यवसाय विस्तार गर्न लागेका छन् । दुई महिनाअघि सम्पन्न भएको उक्त पदमार्गका विभिन्न स्थानमा अहिले होटल व्यवसाय विस्तारका लागि अध्ययन र पदचिह्न निर्माणका काम धमाधम भइरहेको एक्यापले जनाएको छ । बेनी–जोमसोम सडक सञ्चालनमा आउनुपूर्व कास्कीको घान्द्रुक र म्याग्दीको घोरेपानी हुँदै मुस्ताङ भित्रिने पर्यटक अत्यधिक हुने भए पनि त्यसपछि भने पदयात्रामा आउने पर्यटक ५० प्रतिशतले घटेको थियो ।

“स्थानीय पर्यटन व्यवसायी र पर्यटकको अनुभवका आधारमा हामीले पदमार्ग निर्माण गरेका हौँ, यसभन्दा पहिला पनि पर्यटक आएका हुनाले पदमार्ग प्रभावकारी हुनेछ”–एक्याप प्रमुख कुइँकेलले भन्नुभयो । वैकल्पिक पदमार्गले जिल्लामा पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने जिल्ला विकास समिति मुस्ताङका कार्यक्रम अधिकृत केदारसिंह थापाको भनाइ छ ।

“निर्माण सम्पन्नपछि पनि हामीले पदमार्गको मर्मतसम्भारको क्षेत्रमा केही बजेट विनियोजन गर्छौं”–कार्यक्रम अधिकृत थापाले भन्नुभयो । गत वर्ष मुस्ताङमा हवाई र स्थल मार्ग हुँदै ४१ हजार पर्यटक भित्रिएको एक्यापले जनाएको छ । पदयात्राका लागि मुस्ताङको कलासंस्कृति र यहाँको प्राकृतिक सौन्र्दयतामा रमाउने बर्सेनि हजारौँ पर्यटक आउने गरेका छन् ।

प्रतिक्रिया