माघ ८ मा संविधान नबनेको भन्दै झापामा आत्महत्या

इनेप्लिज २०७१ माघ ९ गते ११:५१ मा प्रकाशित

sucideu_041112सुरुङ्गा (झापा), ९ माघ  । आफैँले तोकेको समयसीमाभित्र दलहरुले संविधान जारी गर्न नसकेको भन्दै दक्षिणी झापाको गोलधाप निवासी एक व्यक्तिले आज बिहान झुन्डिएर आत्महत्या   गरेका छन् ।

माघ ८ मा नै संविधान जारी गर्ने विषयलाई लिएर छिमेकीहरुसँग संविधान जारी हुन्छ भन्दै बाजी राखेका गोलधाप–१ निवासी ६५ वर्षीय विष्णुप्रसाद उप्रेतीले झुन्डिएर आत्महत्या गरेको प्रहरी चौकी गोलधापका इन्चार्ज केदार कार्कीले बताउनुभयो ।

नेपाली काँग्रेस र नेकपा एमालेले जसरी पनि माघ ८ मा संविधान जारी गर्छन् भन्दै उनले छिमेकीसँग बिहीबार दिउँसो बाजी राखेको र संविधान निर्माण नभएपछि उप्रेतीले बिरक्तिएर आत्महत्या गरेको हुनसक्ने इन्चार्ज कार्कीको भनाइ छ । आत्महत्या गर्नुअघि उप्रेतीले कुनै ‘सुसाइड नोट’ भने नलेखेको कार्कीले  बताउनुभयो ।

संविधान निर्माणका लागि सहमति जुटाउन संविधानसभा भवनमा बिहीबार अबेरसम्म संविधानसभाको बैठकमा सभासद्ले गरेको नाराबाजी टेलिभिजनमा हेर्दै बसेका उनी संविधानसभाको बैठक स्थगित भएसँगै घरबाट बाहिरिएको बताइएको छ । शौच गर्ने बहानामा घरबाट बाहिर निस्किएका उनी आज बिहान घरनजिकै रहेको छतिउनको रूखमा झुन्डिएको अवस्थामा फेला परेको प्रहरी चौकी इन्चार्ज कार्कीले जानकारी दिनुभयो ।

उनको आज मेची अञ्चल अस्पताल भद्रपुरमा शव परीक्षण गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मृतक उप्रेती नायिका युना उप्रेतीका बुबा हुन् । उनको आज नै कनकाई माईमा अन्त्येष्टि गरिने मृतकका छिमेकी घनश्याम उप्रेतीले जानकारी दिनुभयो ।

राप्रपा नेपाल पार्टीसँग आबद्ध रहेका उप्रेतीले आत्मदाह गरेसँगै सिङ्गो गोलधाप गाविस नै अहिले शोकमा डुबेको सङ्घीय लिम्बुवान् पार्टी नेपालका प्रेम घिमिरेले बताउनुभयो । एक छोरा र तीन छोरीका बुबा उप्रेती छोरा केशव वैदेशिक रोजगारीको सिलसिलामा विदेसिएपछि श्रीमती पुष्पा र बुहारीका साथ बस्दै आएका थिए । नायिका उप्रेती अहिले अमेरिका बस्दै आएकी छिन् भने उनका अन्य दुई छोरी बिमला र गोमा रहेका छन् ।

प्रतिक्रिया