हस्ताक्षर दुरुपयोग भएकामा जनजाति सभासद्को आपत्ति

इनेप्लिज २०७१ माघ ५ गते १५:५३ मा प्रकाशित

काठमाडौँ, ५ माघ । फरक प्रसङ्गमा गरेको हस्ताक्षरको दुरुपयोग भएको भन्दै ३० आदिवासी जनजाति सभासद्ले आज आपत्ति प्रकट गरेका छन् ।

नेपाल आदिवासी जनजाति महासङ्घले यही माघ ४ र ५ गते आयोजना गरेको आमन्त्रित पुस्तिकामा गरिएको हस्ताक्षर दुरुपयोग भएको उहाँहरुको भनाइ छ । नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माले सम्बद्ध सभासद्ले आफूहरु आआफ्ना दलले ल्याएको अवधारणामा प्रतिबद्ध रहेको, कहीँ कतै नगएको र एक जातीय राज्यका पक्षमा नगएको स्पष्ट पार्नुभएको छ ।

हस्ताक्षर दुरुपयोग भयो भन्दै आपत्ति प्रकट गर्नेमा ३० सभासद् छन् । एमालेका सभासद् शेरधन राईले आफूहरु पार्टीको अवधारणाबाट पछाडि नहटेको बताउनुभयो भने । सभासद् यज्ञराज सुनुवारले पनि गलत मनशायका साथ हस्ताक्षर दुरुपयोग भएको भन्दै गलत नियतका साथ प्रस्तुत नहुन आदिवासी जनजाति महासङ्घलाई ध्यानाकर्षण गराउनुभयो ।

यसरी ध्यानाकर्षण गराउनेमा विन्दादेवी आले, अमृतलाल राजवंशी, पार्वत गुरुङ, जयन्तीदेवी राई, महिन लिम्बू, बहादुरसिंह लामा, तुलबहादुर गुरुङ, गोकुल घर्ती, भवानी खापुङ, हर्कबोल राई, पेम्बा लामा, जयप्रकाश थारु, ताराकान्त चौधरी, शकुन्तला राजवंशी, जमीन्द्रमान घले, लक्ष्मी राई, टीकाराम चेम्जोङ, तारादेवी राई, अइन्द्रसुन्दर नेम्वाङ, वैजनाथ चौधरीलगायत हुनुहुन्छ ।

प्रतिक्रिया