विमानस्थल स्तरोन्नतिको काम अघि बढ्न सकेन

इनेप्लिज २०७१ माघ ५ गते ६:५६ मा प्रकाशित

Siddhrtha-Airport-Bhairahawधनगढी, ५ माघ । लामो समयदेखि जग्गा अधिकरण हुन नसक्दा धनगढी विमानस्थलको स्तरोन्नति गर्ने कार्य अगाडि बढ्न सकेको छैन ।

विमानस्थलका लागि चाहिने थप जग्गालाई वार्ताको प्रक्रियाबाट जग्गा धनीहरुबाट लिन गरिएको प्रयास असफल भएपछि स्तरोन्नतिको काम अगाडि बढ्न नसकेको विमानस्थल कार्यालयका प्रमुख राजेन्द्रसिंह नायकले बताउनुभयो ।

जग्गा धनीहरुले विमानस्थललाई जग्गा दिएबापत पाउने मुआब्जामा बढी मोलमोलाई गरेका कारण जग्गाप्राप्तिको काम सफल हुन नसकेको बताइएको छ ।

फलस्वरुप २०६४ सालदेखि जग्गाका लागि बर्सेनि छुट्याइने बजेट रकम खर्च हुन नसकी फ्रिज हुने गरेको छ ।

विमानस्थलको स्तरोन्नतिको कामका लागि २०६४ सालदेखि नै स्थानीय जग्गा धनीसँग वार्ताद्वारा जग्गा लिने प्रयास गरिएको थियो ।

वार्ताद्वारा जग्गाप्राप्ति हुन नसकेपछि गएको भदौ महिनामा कैलालीका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकले अधिकरणद्वारा जग्गा लिने प्रक्रिया अघि बढाउन नागरिक उड्डयन प्राधिकरणलाई अनुरोध गरेको थियो ।

विमानस्थलको स्तरोन्नतिका लागि चालु आर्थिक वर्षमा करिब रु पाँच करोड बजेट विनियोजन गरिएको छ ।

स्तरोन्नतिका लागि विमानस्थलको पूर्वतर्फको झन्डै आठ बिगाहा जग्गा अधिकरण गर्नुपर्ने देखिएको छ ।

जग्गा अधिकरण गरी स्तरोन्नति हुन नसक्दा जहाजको एप्रोन एरिया९बिसौनी०को बिस्तार हुन नसकेको, कम भिजिविलिटीमा उडान गर्न र रातिको समयमा पनि उडान गर्न सकिने उपकरणको जडानका लागि ठाउँको अभाव भएको, एप्रोचलाइट जडान हुन नसकेको कार्यालयका प्रमुख नायकले बताउनुभयो ।

सरकारको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा धनगढी विमानस्थलको स्तरोन्नति गर्ने कार्यक्रम समावेश गरिएको छ ।

धावनमार्गका दृष्टिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पछिको देशकै दोस्रो ठूलो धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थल बनाउने लक्ष्य लिइएको छ ।

सुदूरपश्चिममा दैनिक हवाई सेवाको सुविधा प्राप्त एकमात्र यो विमानस्थलबाट हाल निजी क्षेत्रको बुद्ध एयरले दैनिक, यती एयरलायन्सले हप्तामा तीन दिन काठमाडौँ–धनगढी–काठमाडौँ हवाई सेवा सञ्चालन गरिरहेको छ ।

यस्तै नेपाल वायुसेवा निगमले हाल हप्तामा दुई दिन काठमाडौँ–धनगढी–काठमाडौँ हवाई सेवा सञ्चालन गर्ने गरेकामा कहिलेकाहीँ जहाज मर्मत गर्नुपर्ने अवस्था सिर्जना हुँदा नियमित हुन नसकेको निगमको धनगढीस्थित कार्यालयका प्रमुख कुलप्रसाद ओझाले बताउनुभयो ।

प्रतिक्रिया