संविधानका लागि सडक बहस

इनेप्लिज २०७१ माघ २ गते ११:५५ मा प्रकाशित

काठमाडौँ, २ माघ । निर्धारित समयमा संविधान जारी गर्नुपर्ने माग गर्दै विभिन्न सङ्घसङ्गठनले आज नयाँ बानेश्वरस्थित संविधानसभा भवन अगाडि सडक बहस कार्यक्रम आयोजना गरेका छन् ।

राष्ट्रिय जनमोर्चा निकट रक्तिम साँस्कृतिक अभियान र अखिल नेपाल शिक्षक सङ्घलगायतले आयोजना गरेको सभालाई सम्बोधन गर्दै जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सङ्घीयताकै कारण संविधान बन्न नसकेको अवस्थामा संविधानका अन्तर्वस्तुमा आफ्नो दलको विमति हुँदाहुँदै प्रक्रियाबाट भए पनि संविधान जारी गर्नुपर्ने बताउनुभयो ।

यही माघ ८ भित्रै मानवअधिकारसम्मत संविधान जारी गर्नुपर्ने माग गर्दै मानवअधिकार तथा शान्ति समाजले आयोजना गरेको अर्को एकघन्टे धर्ना कार्यक्रममा मानवअधिकारकर्मी होमकान्त चौलागार्इंले समयमै संविधान जारी गरी आर्थिक, सामाजिकलगायत अन्य विकासका कामलाई गति दिनुपर्नेमा जोड दिनुभयो ।

शान्तिका लागि साझा अभियान कोक्यापले संविधानसभा भवन अगाडि आयोजना गरेको सडक बहसमा नेपाली काँग्रेसका नेता तथा सभासद् चन्द्र भण्डारीले विभिन्न पार्टीमा आबद्ध युवा नेताले संसद् र दलभित्र सकारात्मक दबाब दिइरहेको अवस्थामा अझै समयमा नै संविधान जारी हुने सम्भावना रहेको बताउनुभयो ।

प्रतिक्रिया