विषय र प्रक्रियामा सहमति भए अझै माघ ८ मा संविधान आउँछः सभाध्यक्ष

इनेप्लिज २०७१ माघ २ गते १०:१० मा प्रकाशित

Subasha_20140324114126काठमाडौँ, २ माघ । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले विषय र प्रक्रियामा सहमति गरेमा अझै पनि माघ ८ मा संविधान जारी गर्न सकिने बताउनुभएको छ ।

सम्पादक समाज नेपालले आज यहाँ आयोजना गरेको ‘गोविन्द वियोगी पत्रकारिता पुरस्कार वितरण तथा सम्मान’ कार्यक्रममा उहाँले दलहरुले विषय र प्रक्रियामा सहमति गरेमा ऐन, कानुन र स्थापित मान्यताअनुसार निर्धारित मितिमै संविधान जारी गर्न सकिने उल्लेख गर्नु भयो ।

सभाध्यक्ष नेम्वाङले दलहरुले विषय र प्रक्रियामा तत्काल सहमति नगरे सामान्य प्रक्रियामा गएर संविधान जारी गर्न बढी समय लाग्ने हुनाले दलहरुलाई सहमति गर्न सबै क्षेत्रबाट सकारात्मक दबाब दिनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले प्रस्तावित सञ्चार नीति श्रमजीवी पत्रकारको हकहितमा आउने बताउनुभयो ।

सञ्चार प्रतिष्ठान बनाउने विषयलाई सरकारले सकारात्मक रुपमा लिई काम अगाडि बढाउने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।

सो अवसर सभाध्यक्ष नेम्वाङले गोविन्द वियोगी पत्रकारिता पुरस्कारद्वारा दृष्टि साप्ताहिकका प्रकाशक तथा सम्पादक शम्भु श्रेष्ठलाई रु २५ हजार १०० र गोविन्द वियोगी विशेष पत्रकारिता पुरस्कारद्वारा वरिष्ठ पत्रकार डम्बरबहादुर थापालाई रु १५ हजार एक रुपैयाँसहित सम्मानपत्र प्रदान गर्नुभयो ।

वरिष्ठ पत्रकार इन्द्रकान्त मिश्र र आदित्यमान श्रेष्ठलाई पनि अध्यक्ष नेम्वाङले सम्मान गर्नुभयो । वरिष्ठ पत्रकार पुस्करलाल श्रेष्ठ पनि सम्मानित व्यक्ति हुनुहुन्थ्यो । उहाँ बिरामी भएकाले आउन सक्नुभएन ।

समाजका अध्यक्ष देवेन्द्र गौतमले समाजले हरेक वर्ष पत्रकारिता क्षेत्रमा लामो समय योगदान पुर्‍याउनु भएका दुईजनालाई पुरस्कार तथा तीनजनालाई सम्मान गर्दै आएको जानकारी दिनुभयो ।

प्रतिक्रिया