संविधान विकास र शान्तिका लागि : प्रधानमन्त्री

इनेप्लिज २०७१ माघ १ गते ११:१३ मा प्रकाशित

S1060036भैरहवा १ माघ । मुलुकको आर्थिक सम्बृद्धि तथा दिगो विकासका लागि शान्ति र संविधान अपरिहार्य भएको प्रधानमन्त्री सुशील कोईरालाले बताउनुभएको छ । आज भैरहवामा गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलको शिलान्यास गर्दै प्रधानमन्त्री कोईरालाले सो कुरा बताउनुभएको हो ।
प्रधानमन्त्री काईरालाले देशमा विकास सबैलाई चाहिएको हुँदा अब विकासको गति कसैले रोक्न नसक्ने भएकाले आन्दोलनबाट नभई सहमतिबाट देशको विकास अघि बढाउनु पर्नेमा जोड दिनुभएको छ ।
देश विकासका लागि मुलुकमा स्थायी शान्ति आवश्यक रहेको हुँदा सहमतिबाटै नयाँ संबिधान बनाउन अन्तिम प्रयास गर्ने तर सहमति नभए प्रक्रियाबाटै संविधान बनाउन सबैले सहयोग गर्नुपर्ने प्रधानमन्त्री कोईरालाले आग्रहसमेत गर्नुभएको छ ।
प्रधानमन्त्री कोईरालाले अमेरिका, जापानलगायत विश्वले समयमै नेपालको आर्थिक सम्बृद्धि र संविधान हेर्न चाहेको हुँदा स्रोत–साधन सम्पन्न नेपालमा विकासलाई गति दिन नसक्नु सबै नपालीहरुका लागि लज्जाको विषय भएको बताउनुभयो । समयमै संविधान बनाउन सहमति नभए निर्णय प्रक्रिया मान्नुपर्ने, यदि नमानेमा आन्दोलनको डरत्रास देखाउन पनि नहुने तर्क अघि सार्नुभएको छ ।
गौतमबुद्ध विमानस्थलको निर्माण देश विकाससँगै जोडिएको हुँदा यसलाई तोकिएको समयभित्र पूरा गर्न प्रधानमन्त्री कोईरालाले सबैसँग सहयोगको अपेक्षा गर्दै मरुभूमिमा गएर हराभरा बनाउनु भन्दा हराभरा भएको नेपालको विकासलाई अघि बढाउनुपर्ने कुरामा जोड दिनुभएको छ ।

प्रतिक्रिया