करिव १ बर्ष जति भयो, धेरै विषयमा धेरै अनलाईन मिडियामा आफुले जानेको विषयवस्तुमा आलेखहरु लेख्ने काम गरियो । त्यसलाई कतिले, कसरी लिनु भयो त्यसको बारे म अनविज्ञ छु तर मेरो प्रयास भनेको समाजमा भएका सकभर यथार्थ कुराहरुलाई फूलबुट्टा नभरिकन पस्कन थियो । आजकल अनलाईनमा लेख्ने भिडहरुको माझ मैले पनि विनालाभको अपेक्षा राखेर पाईला राख्ने प्रयास गरे र कुनै आग्रह पुर्वाआग्रह नराखी देखेको, भोगेको र मनले ठिक ठानेको भावना, विचार राखे ।
अव भने आफ्नै कथालाई थोरै राख्ने प्रयास गरेको छु यसलाई अन्यथा नमानिदिनु होला । यस्तै कथाहरु कतिपय पर्दा पछाडी हुनसक्छन् दर्शक र पाठक सामु नआएका हुन सक्छन् । जसरी क्यान्सरले थलिएर मृत्यु कुरेर बसेकी १९ बर्षे कलिली जुम्लाकी सन्ध्या शाहीले आफ्नो उपचारको क्रममा भोगेको पीडा स्वास्थ्य मन्त्रीलाई लेखको माध्यमबाट सुनाईन् र मन्त्रीले समेत प्रत्यक्ष भेटेर उनीबाट आवस्यक जानकारीहरु लिने काम गरे त्यसरीनै कतिपय कुराहरु सार्वजनिक हुँदा कतिपयलाई मार्ग दर्शक हुन सक्छ । अव लागौ मेरो भोगाईका कथा तिर जसलाई यसरी संक्षिप्त राख्न चाहन्छु –
वास्तवमा मेरो समस्या भनेको ढाड दुखाईसँग सम्बन्धित छ । सानो उमेर छदै देखि कृषि कार्य गर्दा ढाडको उचित ख्यालै नगरि कडा मिहिनेत गर्ने र कतिपय समयमा ढाडमा असर हुनेगरि बाटोघाटो र कुर्चीबाट लडेको कारणले पनि यस्तो दुखाई देखा परेको हुन सक्छ । खासगरि ढाड दुख्ने समस्या २०६०/६१ मै देखा परेको थियो र त्यतिवेला उपचार गर्ने प्रयास नभएको होईन तथापी खासमा के कारणले ढाड दुखेको हो भनेर राम्रो सँग डायग्नोसिस् भएन । तत्कालिन समयमा बेडबाटै उठ्न नसक्ने भएपछि झारफुक लगायत घरेलु उपचारका साथमा काठमाण्डौको चर्चित हस्पिटल ” बि एण्डी बि हस्पिटल” मा समेत डा. अशोक बास्कोटालाई भेटेर बोनस्कानिङ र एक्सरे लगायतको जाँचपडताल भयो तर खासै रोग पत्ता लागेन ।
सामान्य औषधी लिएर र दुखाई कम गर्ने ईन्जेक्सन लगाएर गाउँ फर्कियो । त्यतिवेला नशा च्यापिएको शंका गरिएन केवल हड्डीको समस्या होला भन्ने सोचाईमा ध्यान केन्द्रित भयो, डाक्टरले समेत त्यस सम्बन्धी कुनै दृष्टिकोण पुर्याएनन् । त्यसै समयमा काठमाण्डौ मोडेल हस्पिटल र पोखराको प्राईभेट हस्पिटलमा पनि डाक्टर भेट्ने काम भयो तर केवल अर्थोप्याडिक डाक्टरलाई देखाउने काम भयो न्युरोलोजिष्टलाई भेट्ने काम भएन । ती डाक्टरहरुले थरीथरीका अन्दाज र विश्लेषण मात्र गरे तर कसैबाट रोगको सही निदान/पहिचान भएन ।
घरेलु औषधीकै सहयोगमा ४-५ बर्ष जनतन दिन धकेल्ने काम भयो । जव २०६५ सालको अन्तिम तिर विदेश( अमेरिका) तिर हानियो । शुरुका दिनमा केही समस्या नदेखिए पनि केही वजन उठाएर काम गर्नुपर्ने शारिरीक बल बढि प्रयोग हुने( वाईन-वियरको बिक्री हुने स्टोर जहाँ ६०-६५ लिटर जाने वियरको केग विक्री गर्न राखिन्थ्यो) काममा ६ महिना जति काम गरेपछि भने पुन ढाड दुख्ने क्रम जारी भयो ।
यसै विच शुरुमा आएको स्टेट फ्लोरिडा छोडेर हाल बस्ने स्टेट मेरिल्याण्डमा आएर काम गर्न थालेपछि झन् चिसोको कारण थप ढाडको दुखाई बढ्दै गयो तर हेल्थ ईन्सुरेन्सको अभावले गर्दा त्यतिवेला हस्पिटलमा गएर उपचार गर्न सकिएन । एउटा प्राईभेट क्लिनिक( स्पेनिस फिजिसियनको) मा केही खर्च गरेर केही समय फिजियोथेरापी गरियो तर त्यसले कुनै हेल्प भएन । त्यसो त दुखाई कम गर्न साथीहरुको सल्लाहमा ठण्डीबाट जोगिनको लागी हुस्कीको सारा लिएर करिव २ बर्ष बिताईयो, यस बाहेक तत्काल उपाय भेटिएन, पेनकिलर खाँदा खाँदा हैरान परियो र मादक पदार्थलाई नै दुखाई कम गर्ने साधन बनाईयो । साथै सकभर शरिरलाई न्यानो राख्ने प्रयास भयो । मादक पदार्थ उपचारको विधी हुनै नसक्ने जान्दा जान्दै पनि त्यसलाई अवलम्बन गरियो ।
जव आज भन्दा ४ बर्ष पहिला नेपाल गईयो त्यसपछि भने न्युरोलोजिष्टलाई देखाउँदा MRI बाट तिन ठाउँमा( स्पाईनल कर्डको L3, L4, L5) नशा डिस्कले च्यापिएको रिपोर्ट आयो । त्यसपछि एक महिना फिजियोथेरापी गर्नु पर्ने र ठिक नभए सर्जरी गर्नु पर्ने डाक्टरको सल्लाह भयो । तर परिवार, आफन्त र छरछिमेकीले सर्जरी गर्न जोखिम हुने बताए । त्यसलाई मध्यनजर गरेर सर्जरी नगर्ने निधोमा पुगे । त्यसको विकल्पको रुपमा लेजरथेरापी विधीबाट करिव ३ महिना जावलाखेलको अल्का हस्पिटलमा शुसिला बैद्य समक्ष उपचार गरेर अमेरिका फर्के । खासमा त्यो उपचार विधी पनि फलदायी भएन ।
अमेरिका फर्की सकेपछि नेपालबाट ल्याएको औषधी सेवन गर्दै काम गरे र पुन १ बर्ष पछि ढाड दुख्ने र खुट्टा दुख्ने समस्या बल्झिएर निकै गारो भयो । अव भने हेल्थ ईन्सुरेन्स मिलेकोले डाक्टरलाई देखाउन सम्भव भयो । लगातार जसो ४-५ पटक ईमेर्जेन्सीमा देखाए । तर ३-४ पटक सम्म केवल सामान्य एक्सेरे र भिडियो एक्सेरे गर्ने काम भयो त्यसबाट खासै केही समस्या देखिएन, मसल रिल्याक्स गर्ने धेरै औषधी सेवन गर्दा झन् औषधीले विभिन्न साईड ईफेक्ट देखियो । त्यसपछि बाध्य भएर हस्पिटलको डाक्टरले MRI गर्ने सिफारिश गर्यो र त्यसबाट भने नेपालमा झै नशा च्यापिएको र हड्डी खिईएको रिपोर्ट देखियो ।
तत्पश्चात भने “मेडस्टार गुड स्मारिटन हस्पिटल बाल्टिमोर ” को न्युरोसर्जनले दुईवटा विकल्प दिए -एउटा ईन्जेक्सन एवं फिजियोथेरापी र अर्को सर्जरी । त्यसपछि उनकै सल्लाहमा त्यो हस्पिटलबाट अन्यत्रै क्लिनिकमा एकजना ईन्डियनमुलका डाक्टरसँग ईन्जेक्सन लगाने र फिजियो थेरापी त्यही हस्पिटलमा गर्ने काम भयो । निरन्तर ५ पटक १ महिनाको अन्तरमा ढाडमा धेरैवटा ईन्जेक्सन एकै समयमा लगाउने काम भयो र साथमा ३ महिना (हप्ताको दुईपटक) जति फिजियो थेरापी पनि गरे । यति गर्दा समेत २० को १९ समस्या कम भएन अर्थात् ढाड र खुट्टाको दुखाईमा कुनै सुधार देखिएन । पहिला बढी खुट्टा दुख्ने गरेकोमा अव भने ढाड बढी दुख्न थालेको थियो । यस्तो अवस्था आईसकेपछि फेरी डाक्टरलाई भेट्ने काम भयो र डाक्टरले भन्यो की अव खुट्टाबाट ढाड तिर दुखाई सरेकोले सर्जरीले खासै हेल्प नहुन सक्छ बरु चित्त नबुझे अर्को फिजिसियनलाई भेटेर ईन्जेक्सन र फिजियोथेरापी गर भन्ने सुझाव भयो ।
यस्तो सुझाव हुँदै गर्दा कताकता मलाई उपचार गराईरहेको हस्पिटल र डाक्टर प्रति विश्वास लागेन र हेल्थ ईन्सुरेन्सनै परिवर्तन गर्ने निर्क्यौलमा पुगे । जव ईन्सुरेन्स पनि चेन्जको प्रकृया चलिरहेको थियो त्यतिनै बेला गत साल ” जुन महिनामा” फेरी नयाँ समस्या थपियो र मेरो दाईने खुट्टाको पैतला र खुट्टाका औलाहरु ” सेन्सलेस” जस्तै हुन थाल्यो र केही समय पछि भने दुईवटै खुट्टा पैताला देखि कम्मर सम्म खप्नै नसक्नेगरि दुख्न थाले । जतिसुकै पेनकिलर खाँदा पनि दुखाईमा कम भएन, रात दिन दुखाईले आक्रान्त भए र २ हप्ता जति आँखा झिमिक्क गरेर सुत्न पनि सकिन तर सकि नसकी पेन किलरको हाई डोज खाएर काम भने गरिरहेको थिए ।
जुलाई महिनामा अर्को हेल्थ ईन्सुरेन्सको परिवर्तन गर्ने काम भईसकेको थियो र ईन्सुरेन्स आईडेन्टी कार्ड समेत आईसके पछि तुरुन्तै प्राईमेरीकेयर डाक्टरलाई भेटे । उक्त इण्डियन प्राईमेरीकेयर डाक्टर मार्फत उसैको सिफारिशमा एउटा “पेन म्यानेजमेन्ट सेन्टर” मा डाक्टर भेटेर सबै बिमार सम्बन्धी र उपचार सम्बन्धी त्यतीबेला सम्मको बेलिबिस्तार लगाए पछि पुन उसले पनि ईन्जेक्सन लगाउने र सर्जरी मध्ये कुन उपचार विधी अपनाउने मलाई छनौट गर्न भन्यो ।
त्यसपाली मैले ईन्जेक्सन लगाएर हेरी सकेकोले डाक्टरलाई सर्जरी गरिदिन आग्रह गरे । त्यसको लगत्तै उसको सिफारिशमा अर्को न्युरोसर्जन समक्ष सर्जरीको लागी डेट लिने काम भयो र सेप्टेम्वर १५, २०१५ मा बाल्टिेमोर कै “मेडस्टार फ्रांक्लिन स्क्वायर मेडिकल सेन्टर हस्पिटल” मा मेरो ढाडको” लम्वर/स्पाईनल फ्युजन” सर्जरी हुने काम भयो । आखिर अर्को कम्पनीको हेल्थ ईन्सुरेन्स लिए पनि ” घुम्दै फिर्दै रुम्जाटार” भने झै ” मेडस्टार अन्तर्गतको हस्पिटलमै” संलग्न डाक्टर समक्ष पुगियो । परिवर्तिन गरिएको ईन्सुरेन्स कम्पनी भने पहिलेको “मेडस्टार फेमिली च्वाईस”को सट्टा ” युनाइटेड हेल्थ कम्यूनिटी प्लान थियो । यसो त मेरिल्याण्ड स्टेटमा मेडिकेड/ मेडिकेयर अन्तर्गत अन्य हेल्थ ईन्सुरेन्स कम्पनी पनि छनौट गर्न पाईने सुविधा छ तर एक बर्षमा एकपटक मात्र ईन्सुरेन्स कम्पनी परिवर्तन गर्न सकिन्छ ।
त्यसपछि डाक्टरको सल्लाह मुताविक पेनकिलर खाँदै तोकिएको समय सम्म फिजियोथेरापी गरे । डाक्टरले करिव ६-७ महिनामा विस्तारै बिमार निको हुन्छ भनेको थियो र त्यसलाई विश्वास गरेर उसले भने मुताविक उपचार पद्दती अपनाए र अहिले सम्म धेरैपटक MRI, सिटीस्क्यान, एक्सरे गरेर डाक्टरलाई भेट्ने काम पनि भयो । त्यस्तै एकपटक EMG पनि गरेर हेरियो । तर यो उपचार पद्दतीबाट खासै केही सुधार भएन बरु सर्जरी गरेको ठाउँमा निकै दुख्ने र खुट्टाहरु पनि एवं रितले दुख्दै गयो । धेरै पटक पेन कम गर्न ईन्जेक्सन पनि लगाए, औषधीहरु पनि सेवन गरे तर सुधार हुनु भन्दा रोग थपिदै गयो ।
केही महिना पहिला ईन्सुरेन्स कम्पनीको सल्लाहमा अर्को डाक्टरलाई पनि भेटे उसले सर्जरी केही जटिल र रोग केही पुरानो वा क्रोनिक भएकोले समय लामो लाग्ने हुँदा धैर्यता अपनाउने सल्लाह दियो । केही महिनाको भेटमा सर्जरी गर्ने वाला डाक्टरले अव पेनकिलर लिन बन्द गरेर दुखाई आफै सहने बानी गर्न पनि सल्लाह दियो र मैले आजकल जतिसुकै खुट्टाहरु र ढाड दुखे पनि औषधी लिन छोडी सके । उसको भनाई अनुसार धेरै पेनकिलर लिदा साईड ईफेक्टका कारण अरु थप रोगहरु देखा पर्ने हुन्छ ।
त्यस्तै एक महिना पहिला फेरि निकै दुखाई बढेकोले र अर्को तर्फ सर्जरी गरेको ठाउँनेर देव्रेपट्टी ढाडमा केही भाग अम्बाको दाना आकारमा बाहिर देखिने गरि सुन्निएकोले डाक्टरलाई फोन गरेर एपोईन्टमेन्ट लिने काम गरे र उसलाई भेटेर सबै कुरा बताए उसले मसल तन्केको हुन सक्ने र पुन MRI र एक्सरे गरेर हेर्नु पर्ने बतायो । सोही मुताविक दुईवटै Radiology सम्बन्धी काम सकेर डाक्टरलाई भेट्न जाँदा यतिवेला भने उसले थप समस्या देखायो र स्पाईनल कर्डको L1 र L2 मा पनि नशा च्यापिएको बतायो ।
साथै अगाडी अगाडीको भेटमा बताए झै डिस्कहरु जोड्ने ३ वटा जति “स्पाईटल”( टेक्निकल नाम यही हो भन्ने पक्का नभएपनि दुईवटा डिस्कलाई जोड्ने भाग भनिएको थियो) नामको पार्ट समेत Damage भएकोले त्यसमा कृतिम पार्ट राख्नु पर्ने कुरा दोहोराएको थियो र अव पुन सर्जरी गर्नु पर्ने र जुन निकै जटिल हुने साथै दुईपटक (३ दिनको फरकमा) लगाएर सर्जरी सक्नु पर्ने पनि बतायो । यसबारे मलाई निर्णय गर्न भन्यो र मैले जिज्ञासा राख्दै भनेकी यो सर्जरी गरेपछि मलाई आरम हुन्छ ?
यसको प्रतिउत्तरमा उसले भनिरहेको थियो की म यसै भन्न सक्दिन, हुन्छ की भन्ने अपेक्षा हो । “यसो भने म तत्काल निर्णय गर्न सक्दिन मलाई समय दे भने” । त्यस्तै उसलाई मैले भनेकी पहिला ठिकठाक भएको ठाउँमा कसरी नशा फेरी च्यापियो र किन सर्जरी गर्ने समयमा तत्काल MRI नगरि ८-९ महिना पुरानो MRI बाट सर्जरी गरिएको थियो ? यसो भन्दा उसले मेरो कुरालाई अर्कै तिर मोड्ने कोशिस गर्यो । त्यसो त पहिले पहिलेको २-३ पटकको भेटमा ” पेन स्टुमेलेटर मेशिन” ढाडमा स्थायीरुपमा राखेर पेन रिलिफ गराउने प्रकृया अपनाउन सुझाव पनि दिईरहेको थियो तर मैले त्यो आर्टिफिसियल दुखाई कम गर्ने विधी प्रयोग गर्न ईन्कार गरे । अव भने मैले केही निर्णय गर्न नसकी पछि सम्पर्क गरौला भनि फर्के ।
अव भने मलाई डाक्टर प्रति नै शंका झन् बढ्न थालेको थियो किनकी सर्जरी पछि मलाई झन् गारो भएर सामान्य हिडडुल र बस्न पनि समस्या हुँदै गएको थियो र अनेकन शंका उपशंका मनमा खेल्नुका साथै सर्जरी गरेर ठुलो भुल गरेको महशुष हुन थालेको थियो । अर्को तर्फ सबैजसो मेरा साथीहरु, आफन्तहरु र चिनेजानेकाले मेरो उपचार पद्दती माथी प्रश्न गरेको देखेर नाजवाफ हुँदै आएको थिए । कतिपयले त अमेरिका जस्तो सुविधा सम्पन हस्पिटलमा उपचार हुँदैन भने तेरो उपचार कहाँ हुन्छ त ? भन्ने समेत प्रश्न बारम्बार गरेका छन् । त्यो एकहदमा सही प्रश्न पनि थियो ।
हुनपनि हो नेपालका नेताहरु करोडौ खर्च गरेर अमेरिका उपचार गर्न आएर ठिक भएर जान्छन् तर मेरो भने उपचार सही हुन नसकिरहेको लागेको थियो जसमा मुख्य समस्या ” सरकारी हेल्थ ईन्सुरेन्स” र रोजेको हस्पिटलमा उपचार गर्न जान नपाउनु पनि एउटा पक्ष हो भने अर्को पक्ष पर्याप्त सुचनाको अभावमा हतारमा सर्जरी गर्न तयार हुनु पनि हो । त्यस्तै आफ्नो विमार सम्बन्धी समस्या स्पष्ट राख्न भाषागत समस्याको कारण नसक्नु अर्थात् “कमुनिकेशन समस्या” देखिनु, झन्झटिलो लामो प्रकृया पालना गर्नुपर्ने र जानेबुझेका सम्बन्धीत रोगसँग चिरपरिचित नेपालीहरुको सहयोग पाउन नसक्नु वा त्यस्ता व्यक्ती सम्म चिनजान एवं सम्पर्कको अभाव हुनु आदी कारणहरु पनि जिम्मेवार छन् ।
त्यसो त अन्तिममा आएर यसपाली भने एकपटक ” सेकेण्ड ओपिनियन” को लागी एकपटक अर्को डाक्टरलाई भेट्न निधो गरेको छु । अव अर्को डाक्टरको सुझाव के हुन्छ हेर्न बाँकी छ । एउटै डाक्टरको भरपर्दा समेत मेरो बिमारलाई प्रयोगशालामा नयाँ अनुसन्धान गरे भन्दा फरक नतिजा देखिएन । हरेक पटक धैर्य भएर बस्न सुझाव र दुखाई विना औषधी आफैले सहन गर भन्ने आग्रहले मलाई डाक्टरको पेशागत दक्षता प्रति थप सशंकित तुल्याएको छ र यसलाई जस्टिफिकेशन गर्ने म सँग न त आधार छ न त गुनासो गर्ने आधिकारिक निकायनै थाहाँ छ ।
त्यसो त बाध्य भएर केही समय पहिला ईन्सुरेन्स कम्पनीको नर्स टोलिको नाईकेले फोनमा राखेको एक जिज्ञासामा डाक्टरको व्यवहारबाट सन्तुष्ट नभएको र कतिपय समयमा “रुड विहेभ” गरेको गुनासो पनि गरेको थिए । यसले गर्दा पनि अन्य डाक्टरको राय, सल्लाह लिनु पर्ने देखियो तर पनि अहिलेकै हेल्थ ईन्सुरेन्स स्वीकार गर्ने बाहेक अरु राम्रो हस्पिटलको डाक्टर खोजेर उनीहरुको सम्पर्कमा जाने सम्भावना भने रहेन र बाध्य भई त्यो सिमा भित्र रहेर नयाँ डाक्टरको एपोईन्टमेन्ट लिएको छु । केही दिन पछि उसलाई भेट गर्ने डेट फिक्स भएको छ ।
प्रदेशको ठाउँमा कमाई गरेर परिवार पाल्नु पर्ने व्यक्ती ओछ्यानमा थलिएर बस्नु जस्तो कष्टकर के पो हुन सक्ला र ? तथापी केही चिनेजानेका र सहयोगीहरुको साथ एवं सहयोग सर्जरी पछि पाईएको र मेरो समस्यालाई बुझेर हरदम समस्यासँग जुँध्न तयार भएर बालबच्चाहरुको जिम्मेवारीलाई काँधमा लिएर सक्दो काम गरेर संकटलाई जसोतसो पार लगाउन संघर्षरत मेरी अर्धाङ्गिनीको साथले अहिले सम्म जनतन दिनहरु गुजारिरहेको छु ।
अत: मलाई कठिन घडीमा साथ र सहयोग गर्ने सबै महानुभावहरु प्रति म निकै ऋणी एवं अाभारी छु, उहाँहरुको गुन जीवनभरी सम्झिरहने छु । सकभर म जस्तै आपतविपतमा पर्नेको लागी आफ्नो ठाउँबाट गर्न सकिने सहयोग जीवन भरि गरिरहने प्रण पनि गरेको छु । त्यस्तै मातृभुमिमा रोगले ग्रस्त आमाबाबुहरुले मेरो निकै चिन्ता लिईरहनु हुन्छ र मेरै चिन्ताकै कारण उहाँहरु रातदिन आँखामा आँशु बोकेर बाँचिरहनु भएको छ ।
म चाहेर पनि नेपाल जान सकिरहेको छैन र आजकल त आमाबाबुबाट पहिले भनेझै ” बाबु फेरि अपरेशन गरेर गल्ती नगर सिकारु डाक्टरको फेला परेछस्, अव झन् अपरेशन गर्दा सधै भरि उठ्नै नसक्ने गरेर बेडमा थला पर्लास् बरु घरै आईजा यतै हाम्रै आँखाको वरीपरी बसेर जीवन गुजारा गर्लास् ” भनेर धेरैपटक फोनमा भन्नु हुन्छ । सधै जसो विशेषगरेर आमाको आँखामा आँशु बलिन्धारा झरिरहदा आफ्नै जीवन देखि विरक्त लाग्छ तर सहनु बाहेक म सँग कुनै उपाय देख्दिन र आडभरोसा दिन पनि सक्दिन । त्यतिवेला लाचार छोरो भएर आमाबाबुको सामु उभिनुको पीडावोध शव्दमा व्यक्त गर्न सक्दिन । त्यसो त मेरो आमाबाबुको यस्तो अथाहा माया र ममता देख्दा थप जीवन प्रति आशावादी हुन्छु अनि दिमागमा कतिपय समय पलाउने नकारात्मक सोच र निराशालाई तत्कालै हटाएर मेरा हुर्कदै गरेका सन्तानहरुको आँखामा आफ्नो भविष्य खोज्दै गहिराईमा डुब्छु ।
हुनत मैले पनि एक मनले घर फर्किने नसोचेको हैन तर बालबच्चाहरु नेपाल फर्किन कुनै पनि शर्तमा चाहदैनन् उनीहरु यतैको वातावरणमा समायोजन भईसके र यतैको परिवेशमा रम्न थालिसकेका छन् । एक्लै छोडेर जाउ भने उनीहरु सानै छैन, नजाउ के गरेर बसौ ? अझै सम्म मैले अमेरिकी सरकारबाट निःशुल्क हेल्थ ईन्सुरेन्स सुविधा बाहेक कुनै सुविधा लिएको पनि छैन र लिने प्रकृया पनि थालेको छैन ।
एउटा कुरा के सत्य हो भने अमेरिकामा सबैलाई समान नियम र कानुन छ अनि व्यवहार पनि समान गरिन्छ भन्ने जताततै सुनिने गरिन्छ । त्यो पुर्ण सत्य मलाई लाग्दैन । मैले करिव २ बर्ष सम्मको निरन्तर उपचारको क्रममा धेरै पटक अस्पतालको व्यवहार र डाक्टर एवं नर्सहरुको व्यवहार त्यती राम्रो मैत्रीपुर्ण पाएको छैन । कतिपय अवस्थामा रैथाने अमेरिकनहरुलाई गरिने व्यवहार र हामी जस्तो आप्रवासीहरुलाई गरिने व्यवहार एवं शिष्टाचार नै फरक पाए । अरु धेरै ठाउँहरु वा क्षेत्रहरुमा पनि अन्य आप्रवासीलाई गरिने व्यवहारमा पृथकता देखिन्छ । तसर्थ कानुन समान भएपनि अझै सम्म व्यवहारमा विभेद कायमै छ भन्दा फरक पर्दैन ।
त्यसैले मैले बारम्बार आलेख लेखेर होस् वा फेसवुक स्टाटस लेखेर होस्, विदेशमा नेपाली समुदायलाई विभिन्न क्षेत्रसँग सम्बन्धित आवस्यक जानकारी एवं सुचनाहरु दिनको लागी भरपर्दो ” सुचना सेन्टर” को स्थापना ठाउँ ठाउँमा गर्न नेपाली समुदायको सामाजिक संघसंस्थाहरु लाग्नु पर्छ भनेर कुरा उठाउँदै आएको छु तर यसबारे कसैको चासो कहिकतै देखिएको मैले सुनेको छैन । हुनत जसलाई पीडा पर्छ उसलाई पीडा बारे थाहाँ हुन्छ, अरुलाई त्यस बारे के नै पो मतलव हुन्छ भने झै भएको छ । तसर्थ सकभर विदेशमा उपचार गराउँदा वा अन्य जुनसुकै काम गर्दा प्रयाप्त जानकारी एवं सुचनाहरु लिएर मात्र काम गर्न अगाडी बढौ भन्ने अनुरोध समेत गर्न चाहन्छु ।
अन्तमा लेख्न त धेरै कुराहरु मेरो उपचार पद्दती र यसमा देखा परेका समस्याका साथै विदेशमा उपचार लगायत अन्य समस्या सँग जुँध्न के कति कठिन छ, के के कुरामा विचार पुर्याउन आवस्यक छ । त्यस सम्बन्धमा धेरै लेख्न थियो तर एउटै आलेखमा सबै कुरा समेट्न सम्भव देखिएन अहिलेलाई यतिमै कलम रोक्ने टुंगोमा पुगे ।
बाग्लुङ( हाल अमेरिका) !
प्रतिक्रिया