हिन्दू राष्ट्रका पक्षधरहरूको विशेष बैठक सम्पन्न

इनेप्लिज २०७२ फागुन ३ गते १५:४७ मा प्रकाशित

भोजन गृहमा भएको धार्मिक संघसंस्थाहरुको विशेष बैठकको तस्वीर 3

देवर्षि । फागुन ३ काठमाडौं । सोमवार हिन्दूराष्ट्रका पक्षधरहरूको विशेष बैठक सम्पन्न भएको छ । विभिन्न धार्मिक एवम् सामाजिक संघसंस्थाका प्रतिनिधहरू र विभिन्न क्षेत्रका विद्वानहरूलाई डाकिएको सो बैठक काठमाडौंको डिल्लीबजार स्थित भोजन गृहमा भएको थियो ।

भोजन गृहमा भएको धार्मिक संघसंस्थाहरुको विशेष बैठकको तस्वीर 4
विश्वहिन्दू महासंघका मार्गदर्शक भरतकेशर सिंह, सोही महासंघका अन्तर्राष्ट्रिय अध्यक्ष हेमबहादुर कार्की, संयुक्त सनातन मोर्चाका केन्द्रीय संयोजक पदमराज पाण्डे, दलित महिला जागरण अभियन्ता सुभद्रा विश्वकर्मा, गोतीर्थमिसनका अध्यक्ष गोव्रती योगी सोमराज, राष्ट्रिय सरोकार मञ्चका प्रतिनिधिहरू, नेपाल संरक्षण अभियानका विष्णु शर्मा र मानवसेवक लगायतका विभिन्न धार्मिक एवम् संघसंस्था प्रतिनिधिको विशिष्ट उपस्थिति देखिन्थ्यो । त्यस्तै डा. शास्त्रदत्त पन्त, पूर्व सेनापति रुक्मागत कट्वाल, वि.पि. चिन्तन प्रतिष्ठानका सभापति हरिबोल भट्टराई, पूर्वमन्त्री दीनबन्धु अर्याल, मणि लामा लगायतका व्यक्तिहरूको उपस्थिति रहेको सो बैठकमा वक्ताहरूले पछिल्लो समयमा देशको राजनीतिक क्षेत्रबाट सृजना भएका जटिल वस्तुस्थितिको बारेको समिक्षा गर्दै यावत समस्याहरूको निकासको बारेमा आआफ्नो धारणा राखेका थिए ।

भोजन गृहमा भएको धार्मिक संघसंस्थाहरुको विशेष बैठकको तस्वीर 2
धेरै सहभागीहरूले नेपाललाई सिध्याउन विभिन्न खालका षड्यन्त्र भइरहेको र यसलाई बचाउन राजसंस्थाको विकल्प नरहेको अभिव्यक्ति दिएका थिए । ईतिहासविद् तथा लेखक दीर्घराज प्रसाईले ईतिहासका तथ्यहरूलाई उदृत गर्दै नेपाललाई सिध्याउन गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको नाममा जे जति नाटक भइरहेको छ त्यो सबै ईशाई मिसिनरीको ग्रयाण्डडिजाइनमा भइरहेको बताए । सो बैठकलाई सम्बोधन गर्दै गोव्रती योगीसोमराजले वैदिक गाईको संरक्षण नगरेसम्म हिन्दूराष्ट्र लगायतका उपलब्धिहरू हुन नसक्ने तर्फ लक्षित गर्दै पृथ्वीनारायण शाहसँग गाईको दहीको प्रसङ्ग जोडिएको, बहादुर शाह गाई गोठमै बसेर गाईको सेवा गर्ने गरेको, पाण्डवहरू गुप्तबास बस्दा गाईकै गोठालो भएर बसेको आदि प्रसङ्ग जोड्दै स्थानीय जातका गाईको संरक्षण गरी हिन्दूत्त्व संरक्षणको लागि गाईको आर्शिवाद लिनपर्ने बताए ।

भोजन गृहमा भएको धार्मिक संघसंस्थाहरुको विशेष बैठकको तस्वीर 1
ज्यो. दीपक सुवेदीले अहिलेको संविधान घोषणा हुँदाको मुहूर्त निकै नराम्रो परेकोले यो संविधान नटिक्ने जिकिर गर्दै संविधान त टिक्दैन तर यसले धेरै खतरा दिनसक्ने तर्फसमेत संकेत गरे । ज्यो. सुवेदीले यो संविधानले देशलाई रुवाण्डा जस्तै बनाउनसक्ने अनुमान व्यक्त गरे । उनले अहिल्यै प्रधानमन्त्री भारत जाँदा देश र जनताको पक्षमा घातक सम्झौता वा सन्धिको प्रक्रिया अगाडि बढाउनसक्ने सम्मको खतरा ज्योतिषीय दृष्टिबाट देखिएको आशंका व्यक्त गरे ।
बैठकमा धार्मिक क्षेत्रका युवा कार्यकर्ता, महिलाहरूको उल्लेखनीय उपस्थिति देखिन्थ्यो । बैठकलाई संयुक्त सनातन मोर्चाका संयोजक पदमराज पाण्डे, विश्वहिन्दू महासंघबाट भरतकेशर सिंह, विद्वान दर्जाबाट डा. शास्त्रदत्त पन्तलगायतका व्यक्तित्त्वहरूले सम्बोधन गरेका थिए । बैठकमा धार्मिक संघसंस्थाहरूको प्रतिनिधिहरूको प्रतिनिधित्त्व हुने गरी धर्म संसदको स्थापना गर्ने र धर्म संस्थापनार्थ आवश्यक परे क्रमशः सोही संसदबाट संघर्षका कुनै पनि कदम उठाउन सकिनेसम्मका प्रस्तावहरू आएका थिए । पुनः छिट्टै अर्को बैठक बसी उठेका सवालहरूलाई निस्कर्ष दिइने नेपाल संरक्षण अभियानका अभियन्ता मानव सेवकले न्यूज टिमलाई बताए । बैठक धार्मिक एवम् सामाजिक क्षेत्रका सर्वमान्य व्यक्तित्त्व बैकुण्ठ शम्सेर जवराको संयोजकत्त्वमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया