कञ्चनपुर, २ फागुन । झलारी पिपलाडी नगरपालिकाको कालपानीमा निर्माण हुने सिँचाइ परियोजनाको कार्य अगाडि बढ्न सकेको छैन ।
ठेकेदार कम्पनीले काम अगाडि नबढाउँदा निर्माणले गति लिन सकेको छैन । इन्धनको अभावमा ढुवानीका सवारी साधन सञ्चालन गर्न कठिनाइ भएको जनाई काम सुरु नगरिएको स्थानीवासीले बताएका छन् ।
परियोजना सञ्चालनका लागि ठेकेदार कम्पनीलाई आग्रह गर्दा चाँडै सुरु गर्ने अश्वासन दिएको सिँचाइ समितिका अध्यक्ष लक्ष्मण धानुकले बताउनुभयो ।
गत साउनमा विश्व बैंकको रु १३ करोड ६० लाखको लगानीमा निर्माण हुने परियोजनाको ठेकेदार कम्पनीसँग रु आठ करोड नौ लाखमा निर्माण गर्ने गरी सम्झौता भएको थियो । परियोजना १५ महिनाभित्र पूरा गर्ने गरी सम्झौता गरिएको हो ।
परियोजना अन्तर्गत नहरको स्थायी बाँध निर्माण गर्ने, नहरको सुधार गर्ने, पुलेसो राख्ने लगायत कार्य समेटिएका छन् । मुख्य नहरदेखि पूर्वपश्चिम शाखा नहरसम्मको लम्बाइ ६ किमी बढी छ । टोटी नालालाई स्याली नदीमा मिसाएर बाँध निर्माण गर्ने योजना छ । नहर निर्माण भएपछि यहाँको ६०० हेक्टर बढी जग्गामा सिँचाइ सुविधा पुग्ने बताइएको छ ।
साना किसान कार्यक्रम प्रभावकारी
सिँचाइको सुविधाबाट वञ्चित कञ्चनपुरका कृषकका लागि साना सिँचाइ विशेष कार्यक्रम प्रभावकारी भएको छ । सतही सिँचाइको तुलनामा निर्माण लागत खर्च कम पर्ने र कृषकले चाहेका बेला पम्पबाट पानी तानेर जुनसुकै बेला सिँचाइ गर्न सकिने भएकाले साना सिँचाइ कार्यक्रम कृषक माझ निकै लोकप्रिय भएको हो ।
सतही सिँचाइ पद्धतिमा आधारित महाकाली सिँचाइ आयोजनाले जिल्लाको पूरै भूभागलाई नछोएको र चाहेको बेला सिँचाइ नपाउँदा कृषकले हैरानी व्यहोर्नुपर्ने बाध्यताबाट मुक्ति पाउनका लागि पम्पसेट जडान गरी कृषकले सिँचाइको व्यवस्था गर्दै आएका छन् ।
कार्यक्रम अन्तर्गत कृषकलाई ८० प्रतिशत अनुदानमा पम्पसेट प्रदान गरिँदै आएको कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत टीकाराम थापाले बताउनुभयो ।
प्रतिक्रिया