त्रिशूली (नुवाकोट), २४ माघ । नेकपा (एमाले)का केन्द्रीय सचिव गोकर्ण विष्टले एमालेभित्र फरक विचार राख्नेलाई निस्तेज गर्ने परिपाटीले पार्टीलाई कमजोर बनाउँदै क्षमतावान् मान्छे पाखा लगाउने बताउनुभएको छ ।
आज बट्टारमा नेकपा (एमाले) विदुर नगर कमिटीको तेस्रो नगर अधिवेशन उद्घाटन गर्दै सचिव विष्टले गुट होइन एमाले पार्टी बन्नुपर्ने बताउनुभयो । पार्टीभित्र देखिएको गुटबन्दीले एमालेलाई फाइदा नहुने पनि उहाँले बताउनुभयो ।
नेता विष्टले अबको १० वर्षमा नेपालको ग्रामीण सडक, शिक्षा, स्वास्थ्य, रोजगारी, विद्युत् उत्पादन, कृषि पर्यटन, गरिबी निवारणका लागि स्पष्ट खाका र योजना बनाएर अघि बढ्नुपर्ने सुझाव दिनुभयो ।
नेकपा एमालेले देशको आर्थिक विकास र सामाजिक न्यायका लागि नेतृत्व गर्ने बताउँदै उहाँले विदुर नगर कमिटीको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गरेर गुटको राजनीतिबाट मुक्त रहन कार्यकर्तालाई सुझाव दिनुभयो ।
मधेसी मोर्चाले राखेको झापादेखि कञ्चनपुरसम्मको दुई प्रदेशको माग एमालेलाई कदापी स्वीकार्य नहुने बताउँदै नेता विष्टले हिमाल, पहाड तराईको अखण्डता र राष्ट्रिय भावनालाई कमजोर पार्नेगरी अघि सारिएको एजेन्डा स्वीकार्य नहुने बताउनुभयो ।
कार्यक्रममा बोल्दै नेकपा (एमाले)का पोलिटब्युरो सदस्य एवम् पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले आर्थिक विकास एवम् सामाजिक रुपान्तरणका लागि एमालेका कार्यकर्ताको भूमिका प्रभावकारी हुनुपर्ने बताउँदै आर्थिक उन्नतिमा लाग्न कार्यकर्तालाई आग्रह गर्नुभयो ।
नगर संयोजक दीपक कायस्थको सभापतित्वमा भएको कार्यक्रममा एमाले केन्द्रीय सदस्य खेम लोहनी, नेकपा एमाले नुवाकोटका अध्यक्ष नारायणप्रसाद खतिवडा, उपाध्यक्ष बिन्दा ढुङ्गाना, पूर्वसांसद राजेन्द्रप्रकाश लोहनी, पूर्वसभासद् गोविन्द नेपाली, विदुर नगरपालिकाका पूर्वमेयर ठाकुर गजुरेललगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव, उपसचिवसहित ३४ सदस्यीय नगर कमिटी गठन गर्ने कार्यक्रम रहेको छ । विदुर नगरपालिकामा १९५ जना क्रियाशील सदस्यलेमात्र मतदानमा सहभागी बन्न पाउनेछन् ।
प्रतिक्रिया