पोखरा, १० माघ । अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा आजदेखि इजरायलको नयाँ कक्ष सञ्चालनमा आएको छ ।
विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुराको ढुङ्गो राखिएको स्थलमा विश्वकै होचो इजरायलको डेड सीबाट ढुङ्गो ल्याएर नयाँ कक्ष स्थापना गरिएको हो ।
कक्षको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री आनन्दप्रसाद पोखरेलले माटो र पानी नभएको इजरायल नवीनतम् प्रविधिको उपयोग गरी खाद्यान्नमा आत्मनिर्भर भएको र नेपालले पनि त्यहाँबाट धेरै सिक्नुपर्ने बताउनुभयो ।
पोखराको निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलको नेपालबाट हुने सम्पूर्ण तयारी पूरा भइसकेको बताउँदै उहाँले चीनसँग सम्झौता भएलगत्तै निर्माणको काम तीव्ररुपमा बढ्ने बताउनुभयो ।
उहाँले पर्यटन विकास सहर र तारे होटलमुखी नभई गाउँमा केन्द्रित बन्नुपर्नेमा जोड दिनुभयो ।
नेपालका लागि इजरायली राजदूत यारोन मायरले इजरायली कक्ष स्थापनासँगै नेपाल र इजरायलको सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास व्यक्त गर्दै यसले नेपालको पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने उल्लेख गर्नुभयो ।
नेकपा (एमाले)का केन्द्रीय सदस्य एवम् पर्यटन विभाग प्रमुख सूर्य थापाले भावी पुस्तालाई हस्तान्तरण गर्न मिल्ने किसिमका पर्यटकीय पूर्वाधार निर्माण गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा पर्वतीय सङ्ग्रहालयका संयोजक शान्तवीर लामा, क्षेत्रीय प्रशासक शङ्कर कोइराला, नेपाल पर्यटन बोर्डका पूर्वसदस्य टीकाराम सापकोटा, नेपाल पर्वतारोहण सङ्घका कोषाध्यक्ष टीका गुरुङलगायतले आ–आफ्ना धारणा राख्नुभएको थियो ।
सो कक्षमा इजरायलको कृषि र पुरातात्विक महत्वका फोटो प्रदर्शन गरिएको छ ।
प्रतिक्रिया