इन्धन अभावमा निर्माणाधीन तीन जलविद्युत् आयोजनाको काम ठप्प

इनेप्लिज २०७२ मंसिर २७ गते २:५२ मा प्रकाशित

बेनी (म्याग्दी), २७ मङ्सिर । भारतीय नाकाबन्दीका कारण म्याग्दीमा निर्माणाधीन अवस्थामा रहेका ७१ मेगावाट क्षमताका तीनवटा जलविद्युत् आयोजनाको काम तीन महिनादेखि ठप्प भएको छ ।

म्याग्दीको नारच्याङमा निर्माणाधीन अवस्थामा रहेको चार मेगावाट क्षमताको घलेम्दी जलविद्युत् आयोजना, रोवर्ट इनर्जी प्रालिको ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत् आयोजना र २५ मेगावाट क्षमताको दरबाङ–म्याग्दीखोला जलविद्युत् आयोजनाको काम इन्धन अभावमा ठप्प भएको हो ।

उत्तरी म्याग्दीको नारच्याङमा रहेको चार मेगावाट क्षमताको घलेम्दी जलविद्युत् आयोजनाको सुरुङ निर्माण कार्य तीव्रगतिमा अगाडि बढिरहेका बेला भारतीय नाकाबन्दीले निर्माण साम्रगीलाई आवश्यक पर्ने इन्धनको अभाव भएपछि काम रोकिएको छ ।

सुरुङ, इन्टेक, पावर हाउसमा प्रयोग गरिएको मेसिनमा डिजेलको अभाव भएपछि दुई महिना अगाडि आयोजना बन्द गरी कर्मचारीलाई घर पठाइएको घलेम्दी खोला जलविद्युत् आयोजनाका कार्यालय प्रमुख विमल रिजालले बताउनुभयो ।

आयोजनास्थलसम्म एक्स्टेन्सन लाइनसमेत नपुगेकाले अन्य प्रयोजनका लागिसमेत जेनेरेटरसहितका उपकरणमा समेत डिजेलको आवश्यकता पर्ने गरेको छ । जिल्लावासीको सक्रियतामा निर्माण भइरहेको आयोजनाको ३०० मिटर सुरुङ खनिएको छ ।

सडकसहित अन्य आवश्यक निर्माण कार्यलाई समेत तीव्रता दिइरहेको अवस्थामा इन्धनको अभाव भएपछि समस्या भएको अध्यक्ष किशोर सुवेदीको भनाइ छ । करोडौँको नोक्नासी हुने देखिएपछि महँगोमा भए पनि इन्धन खरिद गरेर निर्माणकार्यलाई अगाडि बढाउने आयोजनाले जनाएको छ ।

प्रतिक्रिया