देउसी भैलोबाट सङ्कलित रकमले शिक्षकलाई तलब

इनेप्लिज २०७२ मंसिर ६ गते २:३१ मा प्रकाशित

भोजपुर, ६ मङ्सिर । चन्द्रवती निम्न माध्यमिक विद्यालय र सिंहदेवी प्राथमिक विद्यालयले देउसी भैलो कार्यक्रमबाट सङ्कलन गरेको रकमले निजी स्रोतका शिक्षकलाई तलब दिने निर्णय गरेको छ ।

भोजपुरको षडानन्द नगरपालिका– १० मा रहेकोे चन्द्रवती निम्न माध्यमिक विद्यालयलाई जिल्ला शिक्षा कार्यालय, भोजपुरले २०६४ सालमा स्वीकृति दिएको भए पनि पर्याप्त शिक्षकको दरबन्दी नहुँदा देउसीबाट सङ्कलित रकम तलब भत्तामा खर्च गरिने भएकोे चन्द्रवती निमाविका प्रधानाध्यापक भक्तकुमारी तामाङले जानकारी दिनुभयो ।

यसैगरी सिंहदेवी प्राथमिक विद्यालयलाई पनि २०६४ सालमा नै जिल्ला शिक्षा कार्यालयले स्वीकृति दिएको थियो तर हाल ३ कक्षासम्म पठनपाठन हुँदै आइरहेको छ भने एकजना मात्र शिक्षक दरबन्दी रहेको छ ।

देउसी भैलोबाट विद्यालयले रु ९३ हजार १७० सङ्कलन गरेको थियो । उक्त रकम मध्येबाट चन्द्रवती निमाविलाई ५५ प्रतिशत र सिंहदेवी प्राविलाई ४५ प्रतिशत बाँडेको सिंहदेवी प्राविका प्रधानाध्यापक भट्टराईले बताउनुभयो ।

जिल्ला शिक्षा कार्यालयले भने विद्यालय स्थापनाका लागि स्वीकृत दिने तर दरबन्दी दिन नसकेकाले गाउँघरका सरकारी विद्यालयमा अध्ययन गर्दै आएका विद्यार्थीले गुणस्तरीय शिक्षा प्राप्त गर्न नसकेकोे विद्यालय व्यवस्थापन समिति अध्यक्ष तीर्थबहादुर बस्नेतले बताउनुभयो ।

प्रतिक्रिया