काठमाडौँ, २ मङ्सिर । गत वैशाखको भूकम्प र त्यसपछिका परकम्पका कारण प्रभावित बालबालिकाको सहयोगार्थ एक अमेरिकी कलाकारले आफ्ना चित्र लिलामीमा राखेका छन् ।
नेपालमा भूकम्प गएको थाहा पाउनेबित्तिकै अमेरिकी कलाकार एडम स्वार्टले नेपालको विनाश र यहाँको अवस्थालाइ कल्पना गर्दै चित्र कोर्न थालेका थिए । उनले मङ्गलबारदेखि आफ्ना १० चित्रलाई नेपालका लागि ललितपुर, बखुन्डोलस्थित नेक्सस क्याफे कल्चरमा बिक्रीका लागि राखेका छन् । लिलामीमा राखेका छन् । उनले ७२ घन्टामा ९८ चित्र कोरेका थिए । साना आकारमा कोरिएका चित्रमा उनले नेपालको सम्पदादेखि भूकम्प जाँदा सिर्जना भएका भौगर्भिक अवस्थालाई समेत अटाएका छन् ।
भूकम्पका कारण वसन्तपुरस्थित महत्वपूर्ण सम्पदा ध्वस्त भए पनि शुद्धता र पवित्रताको प्रतीक मानिने कुमारीघर अलिकति पनि नभत्किाएको प्रति आफू आश्चर्यचकित भएको स्वार्टले बताए । कुमारीको प्रतीकलाई आफ्ना विभिन्न चित्रमा उनले समावेश गरेका छन् । उनका चित्रमा धैरै चहकिलो रङको प्रयोग भएको पाइन्छ । नेपाली महिलाले प्रयोग गर्ने टीका, चुरा, पानको पात लगायतलाई उनले चित्रमा प्रयोग गरेका छन् ।
अन्य चित्र अमेरिकालगायत अन्य महादेशमा बिक्री भइसकेका छन् भने केही बिक्री हुने क्रममा छन् । हालसम्म बिक्रीबापत नौ हजार अमेरिकी डलर सङ्कलन भइसकेको स्वार्टले बताउनुभयो । प्रतिचित्रको मूल्य रु पाँच हजार एकदेखि सुरु गरिएको छ । चित्र हेरेर जसले बढी दाम लगाउन सक्छ त्यो चित्र उसले लैजान सक्छ । सङ्कलन भएको रकम बालबालिकाका क्षेत्रमा कार्यरत युनिसेफमार्फत पीडित बालबालिकालाई सहयोग गरिनेछ ।
प्रतिक्रिया