पत्रकार गिरीको निधन

इनेप्लिज २०७२ कार्तिक २४ गते ९:२३ मा प्रकाशित

12226932_10207303482292861_4941843525876647136_nकाठमाडौँ, २४ कात्तिक । पत्रकार तथा लेखक डम्बरकुमार गिरी मस्तिष्काघातका कारण आज बिहान ५० वर्षको अल्पायुमा निधन भएको छ ।
ललितपुरको अल्का अस्पतालमा उपचारका क्रममा निधन भएका गिरी विसं २०२२ जेठ ३ गते शनि–अर्जुन नगरपालिका–६, सालघारी, झापामा जन्मनुभएको हो । उहाँका पितामाता, श्रीमती र दुई छोरी छन् ।

‘भूगोल’ मासिकका सम्पादक तथा प्रकाशक गिरीले विसं २०४० देखि ‘कुटुम्ब’ साप्ताहिकबाट पत्रकारिता प्रारम्भ गर्नुभएको हो । पत्रकारिता र साहित्यमा क्रियाशील उहाँका ‘हिमालकी छोरीः पासाङ ल्हामु’, ‘युग पुरुष’, ‘विचार कुञ्ज’, ‘पवित्र क्रान्ति’, ‘ब्रह्मास्त्र’ आदि पुस्तक प्रकाशित छन् । उहाँले ‘जनता’, ‘छलफल’, लालिमा’, ‘सम्बोधन’, ‘अनुगमन’ आदि पत्रिकामा पनि काम गरिसक्नुभएको थियो । उहाँ नेपाल पत्रकार महासङ्घका केन्द्रीय पार्षद, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका आजीवन सदस्य पनि हुनुहुन्थ्यो । उहाँले भारतीय नेपाली साहित्यको प्रवद्र्धनमा पनि योगदान दिनुभएको थियो ।

उहाँको आजै अपराह्न १ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय वरिष्ठ उपाध्यक्ष राधेश्याम लेकालीले जानकारी दिनुभयो ।

प्रतिक्रिया