रामदी पुल जोखिममा

इनेप्लिज २०७२ असोज १४ गते २:२८ मा प्रकाशित

स्याङ्जा, १४ असोज । सिद्धार्थ राजमार्गको रामदीस्थित कालीगण्डकी नदीमा निर्माण गरिएको मोटर जाने पक्की पुल जीर्ण भएको छ ।

करिब ५० वर्षअघि पुल निर्माण भएयता मर्मत नहुँदा कुनै पनि समय दुर्घटना हुन सक्ने भएकाले सम्बन्धित निकायले चासो देखाउन जनस्तरबाट आग्रह गरिएको छ ।

पाल्पा र स्याङ्जा जिल्लाको सिमानामा पर्ने उक्त पुलको स्थलगत निरीक्षण गर्न दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी, प्रमुख इन्जिनियरलगायतका सरोकारवाला सरकारी निकायका अधिकारीहरु आएका थिए ।

रामदीमा बसेको बैठकले पुलको संरक्षणका लागि ठूला १२ र १८ पाङ्ग्रे मालबाहक ट्रकलाई रोक लगाउने निर्णय गरेको छ ।

स्याङ्जाका प्रमुख जिल्ला अधिकारी इन्दु घिमिरेका अनुसार पुलको ५०० मिटर दायाँ र बायाँबाट निर्माण सामग्री (ढुङ्गा, माटो, बालुवा) निकालिने गरिएकाले पुलका जिप कमजोर भएका छन् ।

नदीको तीव्र कटान र ठक्करका कारण जिप कमजोर भएका छन् भने पुलको जिपलाई नै असर गर्ने गरी निर्माण सामग्री गैरकानुनी तरिकाले लुकीचोरी झिक्दा असर पारेको छ ।

प्रजिअ घिमिरेले त्यहाँ गत भदौदेखि नै प्रहरीलाई तैनाथ गरिएको र पुल मर्मत गर्न सम्बन्धित निकायमा बैठकको निर्णयसहित लेखी पठाएको बताउनुभयो ।

प्रतिक्रिया