दाङ, ६ असोज । अल्लोजन्य हस्तकला उद्यमका सामग्री प्रवद्र्धन गर्नका लागि दाङमा सिलाइकटाइ प्रशिक्षण सुरु भएको छ ।
दाङ हस्तकला सङ्घको आयोजना तथा जिल्ला विकास समिति, पर्यटन विकास समिति र नेपाल हस्तकला महासङ्घ काठमाडौँको आर्थिक सहयोगमा आयोजना गरिएको तालिम दाङको घोराहीमा सञ्चालन भएको छ ।
जिल्लामा अल्लोजन्य उद्यमको सम्भावना र विकास राम्रो भएकाले यसको प्रवद्र्धनका निमित्त तालिम दिन सुरु गरिएको दाङ हस्तकला सङ्घका अध्यक्ष अशोक थारुको बताउनुभयो । पर्यटन विकास समितिका सदस्य सचिव डा गोविन्द आचार्यले अमूर्त संस्कृति संरक्षण गर्ने नीतिअन्तर्गत जिविसले अल्लोखेती, अल्लोजन्य वस्तु उत्पादन र प्रोसेसिङजन्य मेसिनरी सामग्री सहयोग गर्ने कार्यक्रम रहेको बताउनुभयो ।
जिल्लामा विशेषगरी मगर समुदायका महिलाले परम्परागत रुपमा उत्पादन गर्दै आएको अल्लोजन्य वस्तुको उत्पादनका समस्या बुझ्दा यस क्षेत्रमा उत्पादन नहुने र बाहिरबाट कच्चा पदार्थ आयात गर्नुपर्ने समस्या रहेको छ । मेसिनरी सामग्री र पर्याप्त सीपको अभावका कारण गुणस्तरीय वस्तु उत्पादन हुन नसकेका कारण यसलाई कसरी राम्रो बनाउने र जिल्लामै सम्भाव्यता अध्ययन गरेर अल्लोखेती थालिएको डा आचार्यले जानकारी दिनुभयो ।
त्यसैगरी महिला तथा बालबालिका कार्यालयका प्रमुख बिना श्रेष्ठले अल्लोजन्य उद्यमको सम्भावना जिल्लामा राम्रो भएकाले यसको प्रवद्र्धनका निमित्त सबैले ध्यान दिन आवश्यक रहेको बताउनुभयो ।
तालिममा जिल्लाका १० जना महिलाको सहभागिता रहेको छ ।
प्रतिक्रिया