ट्रम्प प्रशासनको गल्तीले साल्भाडोर पठाइएका किल्मार एब्रेगो गार्सियाले आफूलाई त्यहाँको ठूलो कारागारमा ‘मानसिक यातना’ र ‘नराम्रो कुटपिट’ गरिएको आरोप लगाएका छन्। उनको यो बयानले लामो समयदेखि चलिरहेको कानुनी लडाइँमा नयाँ मोड ल्याएको छ।
गार्सियाका वकिलहरूले बुधबार मेरिल्याण्डको अदालतमा पेश गरेको कागजमा यी नयाँ आरोपहरू खुलाएका छन्। उनलाई ‘नराम्रो कुटपिट’, ‘सुत्न नदिने’, ‘पर्याप्त खाना नदिने’ र ‘मानसिक यातना’ दिइएको थियो। झ्यालखानामा बस्दा उनको ३१ पाउण्ड (करिब १४ किलो) तौल घटेको समेत उनले बताएका छन्।
यो वर्षको सुरुमा एब्रेगो गार्सियालाई साल्भाडोरको अत्यन्तै कुख्यात कारागार जहाँ आतंकवादीहरुलाई प्राय जसो राखिन्छ उनलाई त्यही झ्यालखानामा पठाइएको थियो। अदालतमा पेश गरिएको कागजअनुसार, कारागार पुग्नेबित्तिकै एक अधिकारीले उनलाई उक्त कारागारमा स्वागत छ। यहाँ जो छिर्छ, ऊ बाहिर निस्कँदैन” भनेका थिए। त्यसपछि उनलाई नाङ्गै पारेर कपडा फेर्न लगाई डण्डाले कुट्दै कोठामा लगिएको र उनको शरीरभरि चोटहरू लागेको बताइएको छ।
उनी झ्याल नभएको एउटा सानो कोठामा अरू कैदीहरूसँगै २४ सै घण्टा बलेको बत्तीमुनि राखिएको थियो। एक पटक त उनलाई ९ घण्टासम्म घुँडा टेकाएर राखेको र लडेमा कुटेको समेत उनले दाबी गरेका छन्।
तीन हप्ताभन्दा बढी समयपछि उनलाई अर्को ठाउँमा सारेर गद्धा र राम्रो खानासहित तस्बिर खिचेको जुन नाटक मात्र भएको उनले बताए । उनलाई अप्रिलमा अर्को कारागार मा सारिए पनि वकिल र परिवारसँग भेट्न दिइएन। ट्रम्प प्रशासनले एब्रेगो गार्सियालाई ‘एमएस-१३’ नामक गिरोहको सदस्य भने पनि उनका वकिलहरूले यसको कडा खण्डन गरेका छन्।
प्रतिक्रिया