अमेरिकी न्यायाधीशको ठूलो निर्णय: ट्रम्पको आप्रवासी नीतिमा रोक, शरण खोज्नेले राहत पाए

इनेप्लिज २०८२ असार १८ गते १९:४० मा प्रकाशित

एक संघीय न्यायाधीशले बुधबार राष्ट्रपति डोनाल्ड ट्रम्पको एउटा महत्त्वपूर्ण आदेशलाई रद्द गरिदिएका छन्। यो आदेशले सीमा पार गरेर अमेरिका आउने आप्रवासीहरूलाई शरण माग्न वा देशबाट निकालिनबाट जोगिन पाउने सुरक्षाको अधिकारबाट वञ्चित गर्न खोजेको थियो। न्यायाधीशले राष्ट्रपतिको यो आदेश उनको कार्यकारी अधिकारभन्दा बाहिरको रहेको फैसला गरेका छन्।

न्यायाधीश र्यान्डोल्फ ड्यानियल मस जो ओबामाद्वारा नियुक्त भएका न्यायाधिश हुन् । उनले ट्रम्पको यो आदेश अवैध रूपमा सीमा पार गर्ने आप्रवासीहरूको कानुनी सुरक्षा रोक्नका लागि राष्ट्रपतिको अधिकारभन्दा बढी भएको बताए। अमेरिकी आप्रवासन कानुन वा संविधान कसैले पनि राष्ट्रपतिलाई “शरण माग्ने वा निष्कासनबाट बच्ने अधिकार सहितका नियम र प्रक्रियाहरूलाई परिवर्तन गर्ने” अधिकार दिँदैन भन्दै उनले स्पष्ट पारे।

न्यायाधीश मसले आफ्नो आदेशमा भने, “गैरकानुनी रूपमा अमेरिका प्रवेश रोक्न र शरणका दावीहरूको ठूलो संख्याको व्यवस्थापन गर्न सरकारले धेरै चुनौतीहरूको सामना गरिरहेको छ र त्यसलाई अदालतले स्वीकार गर्छ ।” तर, उनले अगाडी भने “कानुनले देशमा पहिले नै रहेका मानिसहरूलाई हटाउने एक मात्र तरिका तोकेको छ, र राष्ट्रपतिलाई एकपक्षीय रूपमा अमेरिकामा रहेका विदेशीहरूको शरण आवेदन दिने अधिकारलाई सीमित गर्ने कुनै अधिकार छैन।”

यो निर्णयपछि ट्रम्पका सल्लाहकार स्टिफन मिलरले कडा प्रतिक्रिया दिँदै न्यायाधीश मसलाई मार्क्सवादी न्यायाधीशको संज्ञा दिएका छन्। उनले सामाजिक सञ्जाल एक्समा लेख्दै भने, “सर्वोच्च अदालतको फैसलालाई छल्नका लागि एक मार्क्सवादी न्यायाधीशले भविष्यका सबै सम्भावित अवैध आप्रवासीहरू (जुन पृथ्वीको ठूलो हिस्सा हुन्) लाई अमेरिकामा प्रवेशको हकदार ‘संरक्षित विश्वव्यापी वर्ग’ को हिस्सा घोषणा गरेका छन्।”

न्यायाधीशको यो आदेश जुलाई १६ बाट लागू हुनेछ, जसले ट्रम्प प्रशासनलाई अपील गर्नका लागि दुई हप्ताको समय दिएको छ।

प्रतिक्रिया