अमेरिकी आक्रमणपछि इरान संकटमा: आणविक निगरानी निकायले आपतकालीन बैठक बोलायो

इनेप्लिज २०८२ असार ८ गते ९:२७ मा प्रकाशित

संयुक्त राष्ट्रसंघीय आणविक निगरानी निकायका प्रमुख राफाएल म्यारियानो ग्रोसीले आइतबार इरानमा अमेरिकी आक्रमणपछि सोमबारको लागि आपतकालीन बैठक बोलाएका छन्। “इरानमा उत्पन्न आपतकालीन अवस्थालाई ध्यानमा राख्दै म भोलिको लागि अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकाय (आइएइए ) को आपतकालीन बैठक डाक्दैछु,” ग्रोसीले एक्समा लेखेका छन्।

इरानी विदेश मन्त्रालयले अमेरिकाले आइतबार इरानी आणविक पूर्वाधारमाथि आक्रमण गरी “इरानविरुद्ध खतरनाक युद्ध सुरु गरेको” आरोप लगाएको छ। मन्त्रालयले इजरायललाई “नरसंहारकारी र गैरकानुनी” राष्ट्र भन्दै अमेरिका कूटनीतिक प्रक्रिया बीचमै “विश्वासघात” गरेको आरोप लगायो।

वक्तब्यमा भनिएको छ, “यो आक्रमण संयुक्त राष्ट्रसंघको सन्धि र अन्तर्राष्ट्रिय कानुनको उल्लंघन हो। यस घृणित अपराधका गम्भीर नतिजाहरूको सम्पूर्ण जिम्मेवारी अमेरिकाले लिनुपर्छ।”

इरानले आफ्नो राष्ट्रिय सुरक्षा र हितको संरक्षण गर्न “सवै आवश्यक उपायमार्फत” जवाफ दिने वैध अधिकार रहेको चेतावनी दिएको छ। साथै इरानले संयुक्त राष्ट्रसंघ र त्यसका अंगहरूलाई यो “खुल्ला अपराध र अवैधता” प्रति तुरुन्त ध्यान दिन आह्वान गरेको छ।

यसैबीच, इराकले पनि चेतावनी दिँदै भन्यो, “यो सैन्य आक्रमणले मध्यपूर्वमा शान्ति र स्थायित्वलाई गम्भीर खतरा पुर्‍याएको छ।” सरकारी प्रवक्ता बासिम अलावादीले युद्धले “पूरे क्षेत्र र संसारलाई अस्थिर बनाउने जोखिम” रहेको बताए।

इराकले तुरुन्त तनाव घटाउन आग्रह गर्दै भन्यो, “युद्धले केवल विनाशमात्र ल्याउँछ भन्ने अन्तर्राष्ट्रिय समुदायले सम्झनु आवश्यक छ।”

प्रतिक्रिया