आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो,
इन्द्रै विन्ती गरुन् झुकेर पाउमा त्यो विन्ती मान्दैन त्यो,
अमेरिकाको भर्जिनियाको राज्यको मनासास पार्क शहरमा भएको दुःखद घटनामा ज्यान गुमाएका एउटा पूरै नेपाली परिवारको दाह संस्कार अमेरिका मेरिल्याण्ड राज्यको गेथर्सबर्गमा सम्पन्न भएको छ ।
मिति: २०८२ असार ५, बुधवार । June 19, 2025
(गेथर्सबर्ग र वुडबाइन, मेरील्याण्ड, अमेरिकाबाट)
आज एक अत्यन्तै भावुक र पीडादायी क्षणमा, स्व. सन्तोष परियार, स्व. अन्जु श्रेष्ठ, स्व. शायना परियार र स्व. ओम राणाप्रति श्रद्धाञ्जली अर्पण गर्दै अन्तिम संस्कार कार्यक्रम सम्पन्न गरिएको छ। अब चारै जनाले सदैवको लागि हामी सबैलाई कहिले नफर्कने गरि अर्कै लोकमा प्रस्थान गरेका छन् । हामी सबैलाई छोडेर गएका छन् । सबैलाई भाबुक बनाएका छन् ।
कार्यक्रम बिहान ७ बजे बेल्टवे क्रिमेसन सेन्टर गेथर्सबर्ग(दाह संस्कार गृह)मा परिवारजनको निजी अवलोकनबाट सुरु भयो। त्यसपछि बिहान ७:३० देखि ८:३० सम्म सर्वसाधारणको लागि श्रद्धाञ्जली अर्पण गरिएको थियो। बिहान ८:३० बजे प्रार्थना पछि शवदाह गृहतर्फ प्रस्थान गरिएको थियो।
त्यसपछि अन्तिम दाह संस्कारमा अर्कै स्थानमा बिहान ९:४५ बजे अन्तिम प्रार्थनाका साथ आगमन भएको थियो। बिहान १० बजे देखि दिउँसो ११:५५ सम्म श्रद्धाञ्जली कार्यक्रम तथा पूजापाठ सम्पन्न भयो।
कार्यक्रमको श्रद्धाञ्जलीमा अन्तर्राष्ट्रिय नेपाली पत्रकार नेटवर्क (इन्जा) का अध्यक्ष गुणराज लुइटेलको संयोजनमा सबैले भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे। कार्यक्रममा मेरील्याण्ड राज्यका सांसद डा. ह्यारी भण्डारी(बिद्यावारिधि), न्याककी उपाध्यक्ष बिना खड्का लामा, एएनएसएसकी अध्यक्ष कामना पन्थी, एनआरएनए भर्जिनियाका अध्यक्ष बिशाल कार्की ,नासो कम्युनिटिका उपाध्यक्ष शिव परियार तथा मोन्सुका अध्यक्ष चिरञ्जीवी लामिछानेले आफ्ना मार्मिक मन्तव्य राख्दै दिवंगत आत्माहरूको सम्झनामा गहिरो समवेदना प्रकट गरे।
स्व. सन्तोष परियारका दाजु सुवास परियार, स्व. अन्जु श्रेष्ठका दाजु तथा भिनाजु र अन्य आफन्तहरू पनि उक्त दुःखद घडीमा उपस्थित थिए।
यी सबै आत्माहरूको चिरशान्तिको कामना गर्दै, सबै समुदायजन, शुभेच्छुक र आफन्तहरूको उपस्थिति तथा भावनात्मक सहभागिताले शोकाकुल परिवारीजनलाई ठूलो सहानूभूति प्रदान गरेको थियो।
बिहीबार, जुन ६, २०२५ को साँझ सन्तोष परियार (३८), अन्जु श्रेष्ठ (३६), र उनीहरूका दुई प्यारा सन्तानहरु क्रमस ८ वर्षीया छोरी र २ वर्षीय छोरा आफ्नै भाडाको घरमा मृत फेला परेका थिए ।
यो अकल्पनीय वियोगले स्थानीय नेपाली समुदाय र उनीहरूलाई चिन्ने हरेक हृदयलाई स्तब्ध बनाएको छ। त्यहा उपस्थित समुदाय सदस्यहरु निकै भाबुक भएका थिए ।
मृतक चार जनाको आर्थिक सहयोगको लागि एनआरएनए भर्जिनियाले गो फन्ड मी खाता खोलेको थियो भने हाल सम्म करिव ३० हजार डलर अन्तिम दाह संस्कारमा संकलन भएको छ । तर गो फन्डको लक्ष्य ५० हजार डलर राखिएको थियो ।
यो अकल्पनीय वियोगले स्थानीय नेपाली समुदाय र उनीहरूलाई चिन्ने हरेक हृदयलाई स्तब्ध बनाएको छ । र ,उनीहरु अब स्मृतिमा मात्र रहने छन् ।
इनेप्लिज परिवारको तर्फबाट हार्दिक श्रद्धान्जली !
प्रतिक्रिया