राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार आफ्नो राष्ट्रिय सुरक्षा टोलीसँगको बैठक सम्पन्न गरेका छन्। फक्स न्युजका अनुसार ट्रम्पले सोमबार जी७ सम्मेलन समयभन्दा अघि छाडेर इजरायल र इरानबीच जारी द्वन्द्वबारे छलफल गर्न यो बैठक राखेका थिए।
फक्स न्युजका वाशिङटन प्रमुख संवाददाता माइक इमानुएलका अनुसार, अमेरिकाले सम्भावित हस्तक्षेप र हवाई आक्रमण समेतको विकल्प खुला राखेको छ। ट्रम्पले इरानी शासनप्रति “नि:सर्त आत्मसमर्पण” माग गरेका छन्।
यसबीच, इजरायली गुप्तचर संस्था मोसादले कृत्रिम बुद्धिमत्ता र गुप्त रूपमा ल्याइएका मानव रहित यान (ड्रोन)को प्रयोग गरेर इरानमाथिको आक्रमणको तयारी गरेको बताइएको छ। एपीका अनुसार, इरानका आणविक केन्द्रहरूमा आक्रमणको योजना वर्षौं अगाडि बनाइएको थियो।
तीन वर्षदेखि मोसाद र इजरायली सेनाले संयुक्तरूपमा रणनीतिक तयारी गरिरहेका थिए। सुरक्षा स्रोतहरूका अनुसार, इरानी हवाई सुरक्षा प्रणाली कमजोर पार्न मोसाद गुप्तचरहरूले सटीक हतियारहरू गुपचुप रूपमा इरानभित्र पुर्याएका थिए।
ती हतियारहरू साना, हतियारयुक्त मानव रहित यान थिए, जसलाई गाडीमार्फत भित्र्याइएको थियो। इजरायलले कृतिम बुद्धिमत्ता प्रयोग गरी संकलित सूचनाको विश्लेषण र तथ्यांकको छानबिन पनि गरेको थियो।
फक्स न्युजका अनुसार, इरानका क्षेप्यास्त्र आक्रमणहरू अहिले घट्दै गएका छन्। इजरायली वायुक्षमता अझै बलियो देखिन्छ। इजरायली सेनाले इरानका करिब ४०% क्षेप्यास्त्र नष्ट गरिसकेको दाबी गरेको छ, तर उनीहरू अझै पनि इरानको आणविक कार्यक्रम नष्ट गर्न चाहन्छन्।
प्रतिक्रिया