जेरुशलमस्थित अमेरिकी दूतावास बन्द, इरान–इजरायल द्वन्द्वका कारण कूटनीतिक सेवा स्थगित

इनेप्लिज २०८२ असार ४ गते ०:०७ मा प्रकाशित

जेरुशलमस्थित अमेरिकी दूतावास इरान–इजरायलबीचको जारी द्वन्द्वका कारण बुधबारदेखि शुक्रबारसम्म बन्दगरिएको छ। अमेरिकी दूतावासले सुरक्षा चेतावनी जारी गर्दै आफ्ना कर्मचारी र उनीहरूका परिवारलाई अर्को सूचना नभएसम्म घरभित्रै सुरक्षित बस्ननिर्देशन दिएको छ।

दूतावासको बन्दसँगै जेरुशलम र तेलअभिभका वाणिज्य-दूत सेवा (कन्सुलर) पनि स्थगित गरिएका छन्। यसले राहदानी , विदेशमा जन्म प्रमाणित गर्ने सेवा, र अन्य सबै वाणिज्य-दूत सेवा प्रक्रिया प्रभावित बनाएको छ।

दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “अहिलेसम्म निजी अमेरिकी नागरिकहरूको उद्दारका लागि कुनै विशेष घोषणा गरिएको छैन। तर, विदेश बिभागले सधैँ संकटको बेलामा उद्दार योजना बनाउने गर्छ। जब नयाँ जानकारी उपलब्ध हुन्छ, अमेरिकी नागरिकहरूलाई सूचित गरिनेछ।”

यसैबीच, अमेरिकी अधिकारीहरूले पनि इजरायलको बेन गुरियन विमानस्थल बन्द रहेको र कुनै पनि व्यावसायिक वा भाडाका उडान सञ्चालनमा नभएको जानकारी दिएका छन् ।

साथै, इजरायलका समुद्री बन्दरगाहहरू पनि बन्द गरिएका छन्।

अमेरिकी दूतावासले आफ्ना नागरिकहरूलाई सजग यात्रु दर्ता कार्यक्रममा दर्ता भई अद्यावधिक सूचना लिन आग्रह गरेको छ।

प्रतिक्रिया