इरानी विदेशमन्त्रीको कडा सन्देश: कूटनीतिमा प्रतिबद्ध, तर अहिले प्राथमिकता प्रतिरोधमा

इनेप्लिज २०८२ असार ३ गते ११:१९ मा प्रकाशित

इरानका विदेशमन्त्री अब्बास अराघचिले युरोपेली नेताहरूसँगको कुराकानीमा इरान कूटनीतिप्रति प्रतिबद्ध भए पनि अहिलेको प्राथमिकता “आक्रामकता विरुद्ध प्रभावकारी र निवारक प्रतिक्रिया” रहेको स्पष्ट पारेका छन्। यो भनाइ इरानी विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

अरघचिले फ्रान्स, बेलायत, जर्मनी र युरोपियन संघका शीर्ष कूटनीतिज्ञहरूसँग संयुक्त संवाद गरेका थिए। साथै उनले इटालीका विदेशमन्त्री एन्टोनियो ताजानीसँग छुट्टै कुराकानी गरेका थिए, जहाँ उनले “केही युरोपेली देशहरू” इजरायलतर्फ झुकेको भन्दै आलोचना गरेको इरानको सरकारी समाचार संस्था आइआरएनएले जनाएको छ।

“इरानी विदेशमन्त्रीले कूटनीतिक प्रतिबद्धता दोहोर्‍याउँदै भने, इरान कहिल्यै वार्ताको टेबल छोडेको छैन,” आइआरएनएले उल्लेख गरेको छ।

सिएनएनले जनाए अनुसार बेलायत, फ्रान्स र जर्मनीले इरान–इजरायलबीचको तनाव कम गर्न आग्रह गरेका छन्। यद्यपि ती देशहरूले “इजरायलको आत्मरक्षा अधिकार” मा समर्थन जनाएका छन् र इरानको परमाणु कार्यक्रमप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।

इरानले शान्ति वार्तालाई नछाडेको भए पनि हालको परिस्थितिमा उसले आक्रामकता रोक्न कडा कदम चाल्ने तयारी गरिरहेको संकेत दिएको छ। यो संवादले युरोप–इरान सम्बन्धमा थप जटिलता थपिएको देखिन्छ।

प्रतिक्रिया