भारत महाराष्ट्रको एक पर्यटकीय क्षेत्रमा पुल ढल्दा भीषण दुर्घटना: २ को मृत्यु, ३२ घाइते

इनेप्लिज २०८२ असार १ गते २०:५७ मा प्रकाशित

भारतको पश्चिमी राज्य महाराष्ट्रमा रहेको एक चर्चित पर्यटकीय स्थलमा आइतवार एक फलामे पुल भत्किँदा कम्तीमा २ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन्। राज्यका मुख्यमन्त्री देवेन्द्र फडनविसले घटनाको पुष्टि गरेका हुन्।

मुख्यमन्त्रीका अनुसार, घाइतेमध्ये कम्तीमा ६ जनाको अवस्था गम्भीर रहेको छ भने उनीहरू अस्पतालमा उपचाररत छन्। उनले सामाजिक सञ्जालमार्फत घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन् ।

स्थानीय संचारमाध्यम (मिडिया)का अनुसार, दुर्घटना हुँदा पुलमा सयौं पर्यटकहरू थिए। पुल भत्किएपछि थुप्रै मानिसहरू बाढीको नदीमा खसेका थिए। मुख्यमन्त्री फडनविसले केही मानिस बगाएको स्वीकार गर्दै खोज तथा उद्धार कार्य जारी रहेको जानकारी दिएका छन्। अहिलेसम्म ६ जनालाई उद्धार गरिएको छ।

प्रधानमन्त्री नरेन्द्र मोदीले पनि मुख्यमन्त्री फडनविससँग दूरवाणी(फोन)मा कुरा गर्दै घटनाप्रति “गहिरो दुःख” व्यक्त गरेका छन् । र ,उनले महाराष्ट्र सरकारलाई आवश्यक सबै सहयोग दिने आश्वासन दिएका छन्।

सिबिएसन्यूजका अनुसार दुर्घटना पुणे जिल्लाको कुन्डमाला क्षेत्रमा भएको हो, जहाँ पछिल्लो केही दिनदेखि लगातार वर्षा भइरहेको थियो। यद्यपि, पुल भत्किंदा मौसम खुल्ला रहेको बताइएको छ।

राष्ट्रिय विपद् प्रतिक्रिया बल सहित विभिन्न टोलीहरू घटनास्थलमा उद्धार कार्यमा खटिएका छन्। भारतको पूर्वाधारमा सुरक्षा कमजोरी वर्षौंदेखि चिन्ताको विषय रहँदै आएको छ। सन् २०२२ मा गुजरातमा भएको पुल दुर्घटनामा १३२ जनाको ज्यान गएको थियो।

प्रतिक्रिया