तेस्रो दिन पनि इजरायलको हवाई आक्रमण: इरानमा ४०६ जनाको मृत्यु, युद्ध चर्कँदै

इनेप्लिज २०८२ असार १ गते १६:१४ मा प्रकाशित

तेस्रो दिनसम्म जारी इजरायली हवाई आक्रमणमा इरानमा कम्तीमा ४०६ जनाको मृत्यु भएको छ भने अन्य ६५४ जना घाइते भएका छन्। वाशिङ्टनस्थित मानव अधिकार समूह अनुसार यो संख्या अझै बढ्न सक्छ। एपीका अनुसार इरानी सरकारले भने अहिलेसम्म आधिकारिक मृत्यु वा घाइतेको विवरण सार्वजनिक गरेको छैन।

शुक्रबार इजरायली बमवर्षाले इरानी आणविक तथा सैनिक केन्द्रहरूमा आक्रमण गर्दा उच्च तहका सैनिक अधिकारीहरू र वैज्ञानिकहरू मारिएपछि क्षेत्रीय तनाव चरममा पुगेको छ। इजरायलले आक्रमण रोक्ने कुनै संकेत देखाएको छैन भने इरानले पनि प्रतिकारको चेतावनी दिएको छ।

इरानका अनुसार इजरायलले दुईवटा तेल प्रशोधन केन्द्रमा आक्रमण गरेको जनाएको छ, जसले अन्तर्राष्ट्रिय ऊर्जा बजारमा गम्भीर असर पार्न सक्छ। इजरायली सेनाले सामाजिक सञ्जालमार्फत इरानी नागरिकहरूलाई हतियार कारखानाबाट टाढा रहन चेतावनी दिँदै अभियान अझ फैलिने संकेत दिएको छ।

इरानको राजधानी तेहरानमा दिउँसो १२ बजे र फेरि ३:३० बजे बम विस्फोटहरू भए। भालि-ए-अस्र स्क्वायर र सैनिक मुख्यालय नजिकै बम खसेको इरानको अर्ध सरकारी समाचार संस्थाहरूले जनाएका छन्।

इजरायलको केही भागमा फेरि दिउँसो ४ बजे संकटकालिन घन्टी बजेको छ । यो युद्ध सुरु भएदेखि इरानको पहिलो दिउँसोको आक्रमण थियो। यद्यपि, तत्काल कुनै मानवीय क्षतिको विवरण आएको छैन।

यो संकटले अब दीर्घकालीन युद्धको रूप लिन सक्ने चेतावनी दिइएको छ।

प्रतिक्रिया