ट्रम्पको इजरायल-इरानमा विवादास्पद भनाई : ‘कहिलेकाहीँ उनीहरुलाई लड्न दिनुपर्छ’

इनेप्लिज २०८२ असार २ गते ०:५६ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार इजरायल र इरानबीच सम्झौता होस् भन्ने आफ्नो चाहना व्यक्त गर्दै ‘राम्रो सम्भावना’ रहेको बताए पनि ‘कहिलेकाहीँ उनीहरूले लड्नुपर्ने हुन्छ’ भन्ने विवादास्पद भनाइ दिएका छन्।

यी दुई राष्ट्रबीचको बढ्दो द्वन्द्व कसरी कम गर्ने भन्नेबारे सोधिएको प्रश्नमा ट्रम्पले भने, “मलाई आशा छ ,सम्झौता हुनेछ। मलाई लाग्छ यो सम्झौताको लागि समय हो र के हुन्छ हेरौं, तर कहिलेकाहीँ उनीहरूले लड्नुपर्ने हुन्छ।”

क्यानाडामा हुने जी ७ शिखर सम्मेलनका लागि प्रस्थान गर्नुअघि ह्वाइट हाउस बाहिर बोल्दै उनले थपे, “मलाई लाग्छ सम्झौता हुने राम्रो सम्भावना छ।”

ट्रम्पले इरानसँग अमेरिकाको ‘निकै राम्रो सम्बन्ध’ रहेको र इजरायल र इरान बीच ‘एक अर्का प्रति ठूलो सम्मान’ रहेको पनि बताए।

यद्यपि, उनले इजरायललाई इरानमा हवाई हमला रोक्न आग्रह गरेका छन् वा छैनन् भन्ने बारेमा केही बताउन अस्वीकार गरे। उनले भने, “म त्यो भन्न चाहन्नँ।”

‘लड्न दिने’ भन्ने ट्रम्पको यो भनाइ रूस र युक्रेनबीचको द्वन्द्वबारे उनले यस अघि दिएका टिप्पणीहरूसँग मिल्दोजुल्दो छ।

प्रतिक्रिया