मिनेसोटाका दुई सांसदको हत्या र हत्या प्रयासमा संलग्न संदिग्ध भान्स बोल्टरलाई हिरासतमा लिइएको एसोसिएटेड प्रेसले जनाएको छ। बोल्टरलाई शनिबार बिहान मिनेसोटाकी प्रजातान्त्रिक सांसद मेलिसा हर्टम्यान र उनका पतिको लक्षित गोली हानी हत्या गरेको तथा मिनेसोटाका राज्य सिनेटर जोन हफम्यान र उनकी पत्नीलाई घाइते बनाएको आरोप लागेको छ।
मिनेसोटाका गभर्नर टिम वाल्ज्ले शनिबारको गोलीकाण्ड ‘राजनीति प्रेरित’ देखिएको बताएका थिए।
कानून प्रवर्तन अधिकारीका अनुसार ५७ वर्षीय बोल्टरले ‘प्रेटोरियन गार्ड सेक्युरिटी’ नामक सुरक्षा प्रतिष्ठानमा काम गरेका थिए। सामाजिक सञ्जालमा प्रकाशन गरिएको एक पुरानो श्रब्यदृश्य (भिडियो)मा बोल्टरले बिजक (बिल) तिर्नका लागि दुईवटा अन्त्येष्टि गृहमा काम गरिरहेको बताएका छन्। मेट्रो फर्स्ट कल नामक एउटा अन्त्येष्टि गृहका मालिकले सिएनएनलाई बताए अनुसार बोल्टरले सन् २०२३ को अगस्त देखि यस वर्षको फेब्रुअरीसम्म काम गरेका थिए, जहाँबाट उनले स्वेच्छाले काम छाडेका थिए।
आइतबार राति गोलीकाण्डका संदिग्ध भान्स बोल्टर पक्राउ परेपछि मिनियापोलिसका नगर प्रमुख जेकब फ्रेले कानून प्रवर्तनको कामको प्रशंसा गरेका छन्।
“हाम्रा प्रहरीहरूले अन्य निर्वाचित अधिकारीहरू र हाम्रा समुदायका सदस्यहरूलाई सुरक्षित राख्नका लागि निपुणता र बहादुरीका साथ काम गरे,” विज्ञप्तिमा भनिएको छ। बोल्टरलाई “कानून अन्तर्गत जवाफदेही बनाइनेछ” भने।
प्रतिक्रिया