कानुनी झडपमा ट्रम्प पराजित: क्यालिफोर्नियाको सैनिक नियन्त्रण राज्यलाई फर्काउन अदालतको आदेश

इनेप्लिज २०८२ जेठ ३१ गते १:३० मा प्रकाशित

संघीय न्यायाधीश चार्ल्स ब्रेयरले राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यालिफोर्नियाको राष्ट्रिय सुरक्षा बल (नेशनल गार्ड)लाई गैरकानुनी रूपमा संघीय नियन्त्रणमा लिएको ठहर गरेका छन्। अब उनले ती सैनिकहरूको नियन्त्रण तत्काल क्यालिफोर्निया राज्यलाई फर्काउन आदेश दिएका छन्।

यो फैसला क्यालिफोर्नियाका गभर्नर गेभिन न्युजमका लागि ठूलो जीत मानिएको छ। न्युजमले ट्रम्प र रक्षा सचिव पिट हेगसेथविरुद्ध मुद्दा दायर गरेका थिए ।

राष्ट्रपति ट्रम्पले आप्रवासन नीतिका विरुद्ध लस एन्जलस क्षेत्रमा भएका प्रदर्शनहरूलाई कारण देखाउँदै हजारौँ सुरक्षाकर्मी सदस्यहरूलाई संघीय सेवामा बोलाएका थिए।

३६ पृष्ठ लामो फैसलामा न्यायाधीश ब्रेयरले लेखे, “राष्ट्रपतिको कदम अवैध थियो – उनले आफ्नो कानुनी अधिकार भन्दा बाहिर गएका छन् र अमेरिकी संविधानको दसौं संशोधनको उल्लंघन गरेका छन्। त्यसैले उनले सुरक्षाकर्मीको नियन्त्रण गभर्नरलाई फिर्ता गर्नुपर्छ।”

यो आदेश शुक्रवार दिउँसो १२ बजेसम्मका लागि रोकिएको छ। यस फैसलाविरुद्ध अमेरिकी न्याय विभागले अपील दर्ता गरिसकेको छ।

फैसलाले संघीय सत्ता र राज्य अधिकारबीचको संवैधानिक सन्तुलनमा नयाँ बहस जन्माएको छ।

प्रतिक्रिया