अमेरिकाको क्यालिफोर्निया राज्यको लस एञ्जलसमा जारी आप्रवासी प्रदर्शनका बीच, अमेरिकाको रक्षा विभागले गम्भीर कदम चालेको छ। रक्षा सचिव पीट हेगसेथको निर्देशनमा र अमेरिकी उत्तरी युकमान्डसँग समन्वय गर्दै ५०० मरीन(नौसेना)लाई ‘तैनाथ हुन तयार अवस्थामा’ राखिएको छ।
अहिले नै करिब ३०० क्यालिफोर्निया राष्ट्रिय सुरक्षा बल (नेशनल गार्ड ) सदस्यहरू लस एञ्जलस काउन्टीमा तैनाथ भइसकेका छन्।
यसबीच प्रदर्शनले हिंसात्मक रूप लिँदै गएको देखिएको छ। १०१ द्रुतमार्ग धुवाँले ढाकिएको छ, जसमा प्रहरी र प्रदर्शनकारीहरू आमनेसामने भिडिरहेको देखिन्छ। प्रहरीले द्रुतमार्ग खाली गराउने प्रयास गरिरहेका छन्।
शहरको मुटुमा स्थित मुख्यनगर लस एञ्जलसमा एक स्वचालित वेमो गाडीमा आगो लगाइएको छ । पूर्व उप–राष्ट्रपति कमला ह्यारिसले राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनमाथि सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त गरेकी छिन्। उनले भनेकी छन्, “राष्ट्रिय सुरक्षा बलको प्रयोग गर्नु भनेको अराजकता बढाउने, भय फैलाउने र विभाजनको नीति हो।”
यसैबीच लस एञ्जलसकी नगर प्रमुख (मेयर )करेन बासले पत्रकार सम्मेलनमा आफ्नो निराशा व्यक्त गरिन्। उनले भनिन्, “हाम्रो शहर टुक्रिनु हुँदैन। राष्ट्रिय सुरक्षा बल पठाउनु भनेको थप अराजकता निम्त्याउनु हो।” उनले ट्रम्प प्रशासनलाई दिनौं अगाडि नै यस बिषयमा सम्झाई रहेको बताइन्, तर उनले गरिएका आग्रहहरू अस्वीकार गरिए।
प्रदर्शनका कारण शहरका मुख्य सडकहरू अवरुद्ध भएका छन्। लस एञ्जलस अहिले सैन्य हस्तक्षेप, आगजनी, सडक अवरोध र राजनीतिक मतभेदबीच संकटमा परेको छ। राष्ट्रपति ट्रम्पको “कडा कानून र व्यवस्था” नीति एकातर्फ छ भने अर्को तर्फ प्रदर्शनकारी र स्थानीय नेताहरूबीच असहमति चुलिँदै गएको छ।
प्रतिक्रिया