अमेरिकाको वासिङ्टन राज्यमा त्रासदी: तीन छोरीको हत्या गरेको आरोपी पिता फरार, २० हजार डलर इनाम घोषणा

इनेप्लिज २०८२ जेठ २२ गते ११:०२ मा प्रकाशित

अमेरिकाको वासिङ्टन राज्यका एक पितालाई आफ्नै तीन नाबालिग छोरीको हत्याको अभियोगमा प्रहरीहरुले व्यापक खोजी गरि रहेको बिभिन्न पत्रपत्रिकाहरुले जनाएका छन् । ३२ वर्षीय ट्राभिस डेकर माथि तीन वटा हत्या र अपहरणको मुद्दा लगाइएको छ। मृत भेटिएका छोरीहरू ९, ८ र ५ वर्ष की थिइन्।

शुक्रबार योजना अनुसार भेटघाटका लागि ट्राभिसले छोरीहरूलाई लिएर गएका थिए तर साँझसम्म फर्काएनन्। आमा चिन्तित भएर प्रहरीमा उजुरी दिएकी थिइन्।

वेनाची प्रहरी बिभागले उनीहरुको तस्बिर सार्वजनिक गरेको छ । सोमबार ट्राभिसको सेतो जिएमसि सियारा मल बाहक गाडी (पिकअप ट्रक) वाशिङ्टन राज्यको लिवनवर्थ नजिक फेला परेको थियो। सोही क्षेत्रमा तीन छोरीको शव पनि फेला परेको प्रहरीले जनाएको छ। ती शवहरू बाँधिएको अवस्थामा भेटिएको र श्वास रोकिएर मृत्यु भएको प्रारम्भिक अनुमान गरिएको छ।

ट्राभिस डेकर पूर्व अमेरिकी सेनासदस्य हुन् । उनि “विशेष तालिमप्राप्त” रहेको प्रहरीले जनाएको छ। उनको अवस्थाबारे केही नखुलेको र उनीसँग हतियार हुन सक्ने आशंका गरिएको छ। प्रहरीले नागरिकहरूलाई ट्राभिस देखेमा सम्पर्क नगर्न र सिधै प्रहरीलाई खबर गर्नआग्रह गरेको छ।

अमेरिकी मार्शल सेवा र अन्य सुरक्षा निकायहरू संयुक्त रूपमा उनको खोजीमा छन्। उनको गिरफ्तारीमा सहयोग पुर्‍याउने व्यक्तिलाई २०,००० डलर सम्म इनाम दिने घोषणा गरिएको छ।

शेरिफ माइक मोरिसनले भने, “ट्राभिस, यदि तिमी सुनिरहेछौ भने यो तिमी आत्मसमर्पण गर्ने अवसर हो। हामी रोकिँदैनौं, हामी तिमीलाई फेला पार्नेछौं।”

तस्बिर : वेनाची प्रहरी बिभाग

प्रतिक्रिया