अमेरिकाको म्यासाचुसेट्स राज्यमा भलिबल अभ्यासमा जाँदै गरेका विद्यार्थीलाई आइसिइले पक्रिँदा अमेरिकामा आक्रोश

इनेप्लिज २०८२ जेठ २१ गते ०:३८ मा प्रकाशित

अमेरिकाको म्यासाचुसेट्स राज्यमा एक १८ वर्षीय उच्च माध्यमिक बिद्यालयका विद्यार्थीलाई आप्रवासन अधिकारीहरूले पक्राउ गरेपछि विद्यार्थी, अभिभावक र स्थानीय समुदाय आक्रोशित बनेका छन्।

ब्राजिलका नागरिक मार्सेलो गोम्स डा सिल्भा, जो मिल्फोर्ड सरकारी उच्च माध्यमिक विद्यालयमा अध्ययनरत छन् । एबिसीन्यूजका अनुसार गत शनिबार भलिबल अभ्यास जान लाग्दा आइसिइका गुप्तचरहरूले गिरफ्तार गरे।

“जब हामी समुदायमा निस्कन्छौँ र त्यहाँ अवैधानिक रूपमा बसेका अन्य व्यक्तिहरू भेट्टाउँछौँ, हामी तिनीहरूलाई पक्राउ गर्नेछौँ,” आईसीईका कार्यवाहक क्षेत्रीय निर्देशक प्याट्रिसिया हाइडले सोमबार एक पत्रकार सम्मेलनमा भनिन्। “यस विषयमा हामी पूर्ण रूपमा स्पष्ट छौँ। उनि १८ वर्षका छन् । उनि यो देशमा अवैधानिक रूपमा बसेका छन् ।”

आईसीईका कार्यवाहक निर्देशक टड लायन्सका अनुसार गोम्स दा सिल्भाका बुबा नै उक्त कारवाहीको वास्तविक लक्ष्यमा थिए। गृह बिभागका अनुसार जोआओ पाउलो गोम्स-पेरेइरालाई १०० माइल प्रतिघण्टा भन्दा बढी गतिमा लापरवाह गाडी चलाउने बानीका कारण खोजी गरिएको थियो।

मार्सेलो सन् २०१२ मा विद्यार्थी प्रवेशाज्ञा( भिसा)बाट अमेरिका प्रवेश गरेका थिए तर हाल सो प्रवेशाज्ञा नवीकरण भएको छैन। उनका वकिलका अनुसार उनी शरणको लागि योग्य छन् । र, निवेदन दिन चाहन्छन्। उनका कुनै आपराधिक इतिहास छैन।

पक्राउको विरोधमा सोमबार विद्यार्थीहरूले बिद्यालय बाहिर प्रदर्शन गरे । आइतबार नगर सभाकक्षमा पनि प्रदर्शन भएको थियो।

गभर्नर माउरा हिलीले आईसिइसँग तुरुन्त जवाफ माग्दै भनिन्, “एक विद्यार्थीलाई अभ्यास जाँदै गर्दा यति अमानवीय ढंगले पक्राउ गर्नु निन्दनीय छ।” संघिय न्यायाधीशले उनलाई कम्तिमा ७२ घण्टा अमेरिकी भूमिबाट हटाउन नपाउने आदेश दिएका छन्।

यस घटनाले अमेरिकाभरि आप्रवासन नीति र मानवीय मूल्यको विषयमा पुनः बहस सिर्जना गरिदिएको छ।

प्रतिक्रिया