अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले न्यूयोर्क स्थित वेस्ट पोइन्ट सैन्य एकेडेमीको दीक्षान्त समारोहमा सैन्यशिक्षार्थीलाई बधाई दिँदै अमेरिकी सेनाको शक्ति र पुनर्निर्माणमा आफ्नो भूमिका प्रस्तुत गरे। यसपटक पुनः राष्ट्रपतिमा फर्किएपछि ट्रम्पको यो पहिलो सैन्य सम्बोधन थियो।
“तपाईहरु संसारकै सबैभन्दा शक्तिशाली सेनाका अधिकृत बन्नुहुनेछ,” ट्रम्पले भने, “र मलाई थाहा छ, किनभने मैले सेनालाई पुनःनिर्माण गरे । हामीले यसलाई यस्तो ढंगले पुनःनिर्माण गर्यौं, जस्तो अघिसम्म कसैले गरेको थिएन।”
ट्रम्पले आफ्नो दोस्रो कार्यकालको कार्यकारी आदेश अनुसार वेस्ट पोइन्टले डाइभर्सिटी, इक्विटी, र इन्क्लुजन ( डिइआइ) अर्थात विविधता, समान अवसर, र समावेशिता कार्यक्रमहरू हटाएको उल्लेख गरे ।
राष्ट्रपतिले रक्षा सचिव पीट हेगसेथलाई सेनाभित्रका डिइआइ पहलहरूको समीक्षाको आदेश दिँदै, जाति र लिंगमा आधारित कुनै पनि प्राथमिकता हटाउने नीति अघि सारेका छन्।
ट्रम्पले विगतका नेताहरूले सेनालाई अनावश्यक रूपमा विदेशमा “राष्ट्र निर्माण” गर्ने अभियानमा घिसारिएको आरोप लगाउँदै भने, “त्यो कहिल्यै हुनु हुँदैनथ्यो। त्यो हाम्रो उद्देश्य थिएन।”
यसअघि २०२० मा ट्रम्पले वेस्ट पोइन्टमा सम्बोधन गर्दा जर्ज फ्लोयडको हत्यापछि उत्पन्न सामाजिक तनावबीच राष्ट्रिय सुरक्षा बललाई धन्यवाद दिएका थिए र दासप्रथा अन्त्यका लागि लडेका सैनिकहरू सम्झिएका थिए।
पाँच वर्षपछि, वेस्ट पोइन्टले विविधता र समावेशितामा आधारित अभ्यासहरू हटाउँदै ट्रम्प प्रशासनको निर्देशन कार्यान्वयन गरिरहेको छ।
प्रतिक्रिया