मे २४, २०२५
कोलोराडो, अमेरीका
श्री १००८ महाराज कृष्णानन्द कालिदास बाबाले कोलोराडो प्रवचन दिदै मातृभुमी नेपालमा हिन्दू सनातनधर्म स्थापीत भएको हेर्न मन भएको बताएका छन् ।
कोलोराडो स्थित रक्की माउन्टेन फ्रेन्ड्स अफ नेपालको आयोजना तथा नेपाली घरको सहयोगमा नेपाली सांस्कृतिक केन्द्र नेपाली घरमा आयोजित प्रवचन कार्यक्रममा बाबाले त्यस्तो आशय ब्यक्त गरेका हुन् ।
शनिवार बिहान ११ बजे देखि दिउसो १ बजेसम्म संचालिन प्रवचन कार्यक्रममा बाबाले अमेरीकामा आएर यसरी नेपाली समुदायबिच उपस्थित हुनपाउदा ज्यादै खुसीलागेको भन्दै नेपाल जस्तो देवभुमी, पबित्र भुमी यो संसारमा कहि कतै नभएको बताए । नेपालीहरूको शान, मान र इज्यत भनेकै हाम्रो मातृभुमी नेपाल भएकोले यसको बिकासको लागी सबैले आ आफ्नो क्षेत्रबाट सक्दो योगदान गर्नुपर्ने धारणा राखे ।
कार्यक्रममा बाबाको सहयोगी पत्रकार गीता मैनालीले बाबाको ब्यक्तित्व र समाजमा उनले पुर्याएको योगदानको बारेमा प्रकास पारेकी थिइन् । त्यसैगरी बरिष्ट साहित्यकार ज्ञ्यानेन्द्र गदालले कालिदास बाबाको बिष्तृत रूपमा परिचय गराएका थिए ।
नेपालको ओखलढुङ्गा जिल्लामा जन्मिहुर्किएका र अहिले भारतमा ख्याती कमाएका श्रद्धेय श्री १००८ कालिदास बाबा जी महाराज कृष्णानन्द परमहन्स नेपाली जातिको शान र गौरव हो । सनातन हिन्दु धर्म र देवभूमि नेपालको उन्नति र प्रगतिको लागि हमेसा चिन्तनरत सन्त योगी कालिदास बाबा मातृभूमि नेपाललाई माया गर्ने हरेक नेपालीका लागि प्रेरणाका स्रोत हुन् ।
संसारभरका साधुसन्तहरुको बीच अलग्गै पहिचान बनाएका सादा जीवन र उच्च आध्यात्मिक विचारका परिपालक सन्त बाबा कालिदास भारतको निरन्जनी अखडाको महामण्डलेश्वर समेत रहेका छन् । देवीको अखण्ड साधना गरेर सिद्धि पाएका बाबा कालिदास तन्त्रका ज्ञाताका रूपमा पनि परिचित छन् । वर्षौंको साधनापछि सिद्धि पाएका बाबा कालिदास बौद्धिक व्यक्तित्व पनि हुन् । भौतिक विज्ञानमा स्नातकोत्तर गरेका बाबा कालिदास भौतिकताबाट विरक्तिएपछि आध्यात्मिक बाटोतर्फ लागेका हुन् ।
नेपालको छिमेकी राष्ट भारतमा ३६ आश्रम, १३ बिध्यालय, ६ वटा अस्पताल,१९ वटा गौशाला निर्माण गरिसकेका बाबाले ५०० बेडको अस्पात निर्माणको अन्तिम चरणमा पुगेको, ३ वटा मेडिकल कलेज बनाउने योजना रहेको र सबै सेवा सुबीधा निशुल्क रहने बताइएको छ । उपस्थित महानुभावहरूको जिज्ञासाको क्रममा बाबाले निकट भबिष्यमा मातृभुमी नेपालमा पनि यस्था संस्थाहरू स्थापित हुदैजाने बताएका छन् । भारतमा विख्यात बाबा कालिदास, त्यहाँका ठुला साधुसन्तमा गनिन्छन् ।
ज्योतिष पिता मनोहर दाहालका जेठा छोरा कालीबाबाले सानैमा ज्योतिष विद्या पनि हासिल गरेका थिए । पढेलेखेको उनको परिवार ग्रामीण क्षेत्रमा सम्पन्न परिवारका रूपमा चिनिन्थ्यो । बनारस हिन्दू विश्वविद्यालयबाट भौतिक शास्त्रमा स्नातकोत्तर पूरा गरेपछि उनले काठमाडौंस्थित अमृत साइन्स कलेजमा करिब ३ वर्ष प्राध्यापन गरेका थिए । पछिल्ला वर्षहरूमा हिन्दू सनातन धर्मलाई नेपालको राष्ट्रिय धर्मका रूपमा फर्काउनुपर्छ भनेर वकालत गर्दै आएका बाबा हजारौं शिष्यका गुरु समेत हुन् ।
उक्त अवसरमा कोलोराडो नेपाली समुदायको तर्फबाट गुरुदेवलाइ माला खादा र पुष्पगुच्छाबाट सम्मान गरिएको थियो । रक्की माउन्टेन फ्रेन्ड्स अफ नेपालका महासचिव तेजप्रसाद ढकालले संचालन गरेको कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष अर्जुन बगालेले कार्यक्रममा उपस्थित सबैलाइ स्वागत मन्तब्य दिएका थिए । कार्यक्रममा बाबाका सहयोगी कवी रविन भण्डारीको पनि उपस्थिती रहेको थियो ।
पत्रकार/लेखक
प्रतिक्रिया