न्यूयोर्कबाट नेपाली चेलीको कडा खुल्ला पत्र- सन्दर्भ रवि 

इनेप्लिज २०८२ जेठ ११ गते २३:२१ मा प्रकाशित

लक्ष्मी श्रेष्ठ । आकाशलाई बादलले डम्मै ढाकेकोले कतैबाट पनि निलो आकाश देखिएको छैन। लाग्छ आकाश पनि आज बादलको अत्याचार चुपचाप सहन बाध्य भएकोछ। आज यस्तो लाग्छ रबि बादललाई चिर्ने असफल प्रयास गरिरहेछ। 

तर बादल आफ्नै हठ र घमण्डमा चूर भएर टस् को मस् भएको देखिंदैन। यो बादलको हठ क्षणिक हो भन्ने थाहा पाउँदा-पाउदै पनि ऊ आफ्नो शक्ति प्रदर्शनमा रबिलाई टक्कर दिन अनावश्यक आफ्नो शक्ति खर्चिरहेको देख्दा मलाई ताज्जुब लाग्छ। 

आज यी टुक्रा टुक्री बादलहरु एकजुट भएर आफ्नो अँधेरो राजलाई क्षणभरको लागि भएपनि बचाउन रबिलाई चुनौती दिईरहेको देख्दा मनमा बादल प्रति घृणा पनि जाग्छ। तर बतास भने बादललाई पन्छाएर पृथ्वीमा सत्यको आभास दिन अथक प्रयासमा जुटीरहेकोझैं लाग्छ।

 मेरा झ्याल बाहिरका रुखहरु भने आफ्नो  हरिया हाँगाहरुलाई नचाउँदै रबि र बादलको बारेमा बताससंग भलाकुसारी गरिरहेझैं आभास हुन्छ। म आफ्नो कानलाई ठाडो पारेर त्यो भलाकुसारी सुन्ने कोशिषमा जुटीरहन्छु। 

रुख बतासलाई सुस्तरी सोध्छ “ साथी पवन, आज किन यो बादल अनाहकमा रबिसंग निहु खोजिरहेछ हँ?  प्रत्युत्तरमा बतास भन्छ, “साथी रुख़ , आज भोलि पृथ्वीमा भैरहेको क्रुरता, अन्याय र अत्याचार देखेर प्रकृति रानीलाई बैराग्य चलेकोले समय-समयमा अतिवृष्टि,अनावृष्टि, बाढी, पहिरो संगै कोभिड किटाणुलाई भित्र्याएर  मान्छेहरुलाई सबक सिकाई सजग गराउने कोशिष गर्दैछिन्। तर मान्छेको जात कहिल्यै चेत्ने भए पो! 

त्यसैले रबि पनि प्रकृतिलाई साथ दिन आफैं बादलको पछाडि बसेर प्रकृतिलाई साथ दिन सक्दो कोशिष गरिरहेकाछन्। तर बादल भने मैले रबिलाई उदाउन नै दिईन। म रबी भन्दा धेरै  शक्तिशाली छु भन्ने भ्रममा बाँचीरहेकोछ। तर भ्रम त आखिर भ्रम नै हो टुट्न केही बेर लाग्दैन। हेरन टुक्रा टुक्री बादलहरु आज एकजुट भएको नाटक गर्दै रबिको  तेजलाई ढाक्न छोप्न-खोज्दैछन्। यिनीहरुको झुठो एकता, हठ र घमण्डले गर्दा आखिर बादलहरु संधै एकसाथ रहन त सक्दै सक्दैन। टुक्रनु त बादलको एउटा मुख्य बिशेषता नै हो। यो कुरा त आकाशलाई पृथ्वीको उदय देखि नै थाहा भएको कुरा हो।

रबि त सत्य अजर र अमर छ। आखिर बादलले जति नै दबाउन-लुकाउन कोशिष गरेपनि उसले चाहेको खण्डमा बादल उसको बाटोबाट नहटी सुखै छैन।” 

बतासको कुरा सुनेर म एकछिन भावुक बन्छु। 

आज शनिवार, दिउँसोको २ः३० बजिसकेकोछ। म भने ओछ्यानमै अढेस लगाएर अझै आराम गरिरहेकीछु। शरिरले त्यति स्वास्थ महशुस नगरेकोले काममा बिदा लिई अस्ति बुधवार त घरमानै आराम फर्माएँ।आखिर के छ र जीन्दगी? आज देखिएको-भेटिएको मान्छे भोलि नभेटिन पनि सक्छ। आखिर जति मेरीमेटे पनि टेक्ने र बिलाउने त यही माटोमा नै हो। संसारको सबभन्दा अग्लो सगरमाथाको आरोहण गरेपनि आखिर नओर्लेर सुखै छैन। माटोमा नटेकी धरै छैन।

लगाम कस्न नसकिने मन न हो, आखिर छिन छिनमै उडेर संसार विचरण गर्न पुग्छ। घरदेश-परदेश संसार चाहार्छ।खबरमा आँखा कुदिरहन्छन्। घरि सुन काण्ड, घरि बालुवाटार जग्गा काण्ड, घरि भुट्निज मानब तस्कर काण्ड गर्दै सयौं काण्डै काण्डको लस्कर लागेको मेरो घरदेशमा फेरी भर्खरै राष्ट्र बैंकमा गभर्नर चयन काण्ड र त्रिभूवन बिमानस्थलमा मानब तस्कर गरेबापद दिनको पचासौं लाख असुलेर पेट दमाहा जत्रो पारेको अर्कों काण्डको न्वारान पनि भएछ।एउटा काण्ड सेलाउन पाएको छैन अर्कों काण्डको न्वारान भैहाल्ने मेरो घरदेशको परम्पराले गहिरो जरा गाडीसकेको छ।

हे भगवान!  हैन यी मर्न नसकेका सैतानहरुलाई कति पैसा चाहिएको?  एउटा राष्ट्र बैंकको गभर्नर छान्न १०० करोडको चलखेल हुन्छ । काँही नभएको जात्रा हाँडीगाउँमा- अझै काँग्रेस र एमालेको भन्दै भाग भण्डा पो लगाउछन् त!

अनि यस्ता काण्डहरुको भण्डाफोर गरेर देशको लागि केही गरौं, देशको मुहार फेरौं, नेपाल आमाको मुहारमा मुस्कान ल्याउँ, देशका निमुखा जनताको आँगमा पनि घाम लागोस्  भनि देश र जनताको लागि  समर्पित बनेका देशमा उदाउँदै गरेका राजनिती दलका नयाँ पिंढीका युवा नेता रबिलाई जेलमा कोचेर सडाउने, उनको मनोबल गिराउने अभिप्रायले साम, दाम, दण्ड, भेद सबै अपनाउँछन् राज्यको सरकार।  

दुई-दुई पटक मन्त्रि र उप-प्रधान मन्त्रि बनिसकेका युबा नेतालाई ज्यानमारेर भागेका कैदी जस्तो ब्यबहार गर्दै मानब अधिकार नै हनन हुने गरी राता-रात घरको सयन कक्षबाट समातेर कैदखानामा बन्द गरी प्रहरी शक्ति बाघ मारें भन्दै गर्व गर्छ। मैले बुझ्न नसकेको कुरा, अनि यी मानब अधिकारबादीहरु कुन दुलोमा लुक्न बाध्य छन्। सायद उनीहरुको हात, मुख र खुट्टा पनि पक्कै रिमोट कन्ट्रोलबाट बाँधिएकोछ। 

देशको बिकाश, जनताको उन्नत्ति र प्रगतिको कुरा कता हो कता?, एउटा मान्छेको विरुद्ध राज्यका सरकार र देशका सम्पूर्ण भ्रष्ट नेताहरु हात धोएर पछि परेका छन्। कति लाजमर्दो कुरा, रबिको छबिलाई धमिल्याउन हर प्रयास भैरहेछ। तर चाहे भष्ट्रहरु  सरकार आज जतिसुकै शक्तिशाली हुन् भोलि समयको अगाडि घुँडा नटेकी सुख्खै छैन। समय संधै एउटै रहंदैन कुम्हालेको चक्र जस्तै एकनास घुमिरहन्छ। रबिलाई जति दबाउन-गलाउन खोज्यो उति शक्तिशाली भएर निस्कन्छ। यो निर्विवाद छ।

रबि आज आगोको प्रचण्ड रापमा फलाम सेकिएझै सेकिएर खारिएर भोलि धारिलो शक्तिशाली औजार बनेर निकन्छ। यसमा कसैको दुईमत छैन। त्यसैले सूर्यलाई हत्केलाले छेकें भनेर आज सरकार दंग नपरे हुन्छ। राजनिती प्रतिसोध साध्न बन्द गर। ३-३ महिना लगाएर रबि र सहकारी माथि गरेको अनुसन्धान प्रतिबेदनको औचित्य के? 

सरकारको तागत छ भने सबै भ्रष्टहरुलाई पाता कसेर जेल चलान गरी कार्बाही गर त! तिमीहरुको हिम्मत छ देशलाई लुट्न ठग्न पल्केका लुटाहा ठगहरु? 

सोझा-साझा जनताको सहकारीको पैसा ठगेर खाने आफ्ना पार्टीका ठगहरुलाई थोरै धरौटी राखेर एकैदिनमा छोडीन्छ या कसैलाई केही कार्बाही नै हुँदैन। लाज शरम पचेको सरकार, यसलाई राजनिती प्रतिशोध नभनेर के भन्ने? 

बन्दिप्रत्यक्षिकरण रिट अनुसार रबि र हामी सबैलाई पूरा बिश्वास थियो “ देर आया दुरुस्त आया, भगवानका घर देर हे अँधेर नहीं” भन्ने हिन्दी उखान झैं, ढिलै भएपनि न्यायलयका दूर दृष्टी भएका हाम्रा न्यायमूर्तिहरुबाट अब त रबिले पक्कै न्याय पाउँछन्। 

तर लाखौं जनताहरुको आशा र भरोषामा यस पटक पनि ठुलो तुषारापात भएको छ। मैले नबुझेको कुरा, दुनियाँ ठगहरु, भ्रष्टहरुलाई जेल बाहिर राखेर मुद्धाको किनारा लगाउन मिल्ने, रबिलाई चाहीं त्यत्रो धरौटी राखेर पनि जेल बाहिर राखेर मुद्धाको किनारा लगाउन नमिल्ने? यो कस्तो न्याय?? के साँच्चै अब न्यायकी न्यायमूर्तिले सही र गलत छुट्याउन गाह्रो भएर आँखामा पट्टी नै बाँधेकी हुन् त?

यस्तै प्रश्न-प्रतिप्रश्नले आज मेरो हृदयमा गहिरो चोट लागेकोछ।

प्रतिशोधको आगोमा रबिलाई होमेर नै छोड्यौं भनेर भ्रष्ट सरकार दंग परिरहेछौ। दंग त पर, तर लाखौं-करौंडौ राष्ट्र प्रेमी युबाहरुको हृदयमा तिमी भ्रष्टहरुको बिरोधमा आफैंले आगोको ज्वाला दन्काईदियौ। आफैंले सल्काएको आगोको ज्वालाले छिट्टै तिमीहरुलाई नै भष्म गराउने कुरा निश्चित छ। 

अझै पनि समय छ आफ्नो छातीमा हात राखेर आफ्नो आत्मालाई साक्षी राखेर रबि, नेपाली जनता र आमा नेपालमाथि गरिरहेको भ्रष्टाचार, अन्याय र अत्याचारको अन्त्य गर। तिमीहरुको बुद्धीमा लागेको बिर्को खोल। यदी अझै पनि आफुले गरेको अन्याय-अत्याचार र आफ्नो पाखण्डीपनको सही आत्म आलोचन गरेर आफ्नो कदम अघि बढाएनौ भने याद राख २०८४ को चुनाबमा तिमीहरुको हार निश्चित छ। हार मात्रै हैन ज़मानत जफत हुन पनि के बेर? अनि याद राख त्यत्तिबेला तिमीहरु मुसा झैं कुन दुलोमा लुक्छौ???

लक्ष्मी श्रेष्ठ 

सुन्दरीजल, काठमाडौं

हालः न्युयोर्क, यू.एस. ए.

प्रतिक्रिया