पूर्व राष्ट्रपति जो बाइडेनलाई आक्रामक प्रकारको पुर:स्थ अवुर्द (प्रोस्टेट क्यान्सर )भएको पुष्टि गरिएको छ।
र ,क्यान्सर उनको हड्डीसम्म फैलिएको छ। आइतवार बाइडेनको निजी कार्यालयबाट जारी गरिएको विज्ञप्तिमा यो जानकारी दिइएको हो।
विज्ञप्तीका अनुसार बाइडेनलाई केही समयदेखि पेशाब सम्बन्धी समस्या देखा परिरहेको थियो। गत हप्ता गरिएको परीक्षणमा प्रोस्टेटमा (पुर:स्थ) गाँठो भेटिएपछि थप जाँच गरिएको थियो।
शुक्रबार बाइडेनलाई पुर:स्थ अवुर्द भएको पत्ता लागेको हो। चिकित्सकीय मापदण्डअनुसार यो क्यान्सर “ग्लीसन स्कोर ९” (ग्रेड समूह ५) को मानिन्छ, जसले यसको अति आक्रामक प्रकृति जनाउँछ। साथै, क्यान्सर हड्डीमा फैलिएको (मेटास्टेसिस) पुष्टि भएको छ।
यद्यपि यो रोगको गम्भीर रूप भए पनि विज्ञप्तिमा उल्लेख गरिएअनुसार क्यान्सर “हर्मोन-सम्वेदनशील” भएकोले यसको प्रभावकारी उपचार सम्भव छ। यसले रोगको प्रगति नियन्त्रण गर्न चिकित्सकहरूलाई सहुलियत दिने विश्वास गरिएको छ।
बाइडेन र उनको परिवार हाल चिकित्सकहरूसँग परामर्श गरी उपचारका विकल्पहरूबारे समीक्षा गरिरहेका छन्।
हालसम्म बाइडेनको स्वास्थ्य स्थितिबारे थप विवरण सार्वजनिक गरिएको छैन।
यो समाचारले अमेरिकन राजनीतिक वृत्तमा चिन्ता पैदा गराएको छ ।
प्रतिक्रिया