असोज ३ गते दीपावली गरी विजयोत्सव मनाउन नेकाको आह्वान

इनेप्लिज २०७२ भदौ ३० गते १०:५८ मा प्रकाशित

काठमाडौँ, ३० भदौँ । संविधानसभामार्फत नयाँ संविधान जारी गर्ने ऐतिहासिक दिन अगामी असोज ३ गते साँझ विजय र खुशीयालीका साथ घर घरमा दीपावली गरी विजयोत्सवको रुपमा मनाउन नेपाली काँग्रेसले आम नागरिकमा आह्वान गरेको छ ।

जिल्लाका विभिन्न राजनीतिक दलहरु, नागरिक समाजलगायत सबैलाई साथ लिएर सार्वजनिकस्थल तथा कार्यालयमा विभिन्न कार्यक्रमका साथ विजयोत्सव मनाउनसमेत जिल्ला पार्टी तथा भ्रातृ एवम् शुभेच्छुक संस्थाहरुलाई पार्टीले निर्देशन समेत गरेको छ ।

पार्टीका मुख्य–सचिव ऋषिकेश तिवारीद्वारा आज यहाँ जारी विज्ञप्तिमा भनिएको छ “नेपाली जनताले नयाँ संविधान पाउने निश्चित भएकामा नेपाली काँग्रेस हार्दिक स्वागत गर्दछ ।”

“आम नेपाली जनताको विजय हो । राष्ट्रको इतिहासमा एकपटक मात्र आउने यो अवसरलाई विजय र खुशीयालीका साथ घर घरमा दीपावली गरी विजयोत्सव मनाउन नेका आम नागरिकलाई हार्दिक आह्वान गर्दछ” विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा अगाडि भनिएको छ “२००७ सालको क्रान्तिदेखि नेपाली जनताले आफ्ना जनप्रतिनिधिमार्फत देशको संविधान आफैँ निर्माण गर्ने अनवरत् सङ्घर्ष र चाहनाको परिणाम स्वरुप २०७२ असोज ३ गते नेपालको इतिहासकै सर्वाधिक महत्व राख्ने सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान घोषणा हुँदैछ । संविधानसभामा मतदान प्रक्रियाबाट संविधान निर्माणको प्रक्रिया आज पूरा हुँदैछ ।”

प्रतिक्रिया