राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस–युक्रेन युद्ध अन्त्य गर्ने प्रयासलाई तीव्र बनाउँदै आउँदो सोमबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सँग छुट्टाछुट्टै दूरवार्ता (टेलिफोन )गर्ने घोषणा गरेका छन्।
शनिबार आफ्नो सामाजिक संजाल( ट्रुथ सोसल)मा लेख्दै ट्रम्पले भने, “सोमबार बिहान १० बजे पुटिनसँग दूरवार्ता (फोन)मा कुरा गर्नेछु। त्यसपछि युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग पनि संवाद हुनेछ।” उनले युद्धलाई “रक्तपात” भनी उल्लेख गर्दै हरेक सातामा ५,००० भन्दा बढी रूसी र युक्रेनी सैनिक मारिएको तथ्य उल्लेख गरे।
“यो हिंसात्मक युद्ध कहिल्यै हुनुपर्ने थिएन। आशा छ सोमबारको संवादबाट युद्धविरामको बाटो खुल्छ,” ट्रम्पले भने। युद्ध अन्त्य गर्नु ट्रम्पको २०२४ को चुनावी अभियानको प्रमुख प्रतिबद्धता हो।
शुक्रबार टर्कीको इस्तानबुलमा रूस र युक्रेनका अधिकारीहरूबीच युद्ध सुरु भएयता पहिलोपटक प्रत्यक्ष वार्ता भएको थियो। त्यहाँ बन्दी अदलाबदलीमा सहमति जुटेको भए पनि स्थायी युद्धविराममा ठोस प्रगति भएको देखिएन। दुवै राष्ट्रले १०००/१००० बन्दीलाई रिहा गर्नेमा सहमति भएका थिए ।
शनिबार अमेरिकी विदेश सचिव मार्को रुबियोले पनि रुसी समकक्षी सेर्गेई लावरोभसँग वार्ता गरेका छन्। ट्रम्पले भने, “पुटिन र म भेट्नैपर्छ। समाधान निकाल्छौं, वा सायदै निस्केला।” अप्रिलमा युक्रेनमाथि रुसी हमलापछि ट्रम्पले सामाजिक संजाल प्रकाशित गर्दै लेखेका थिए, “भ्लादिमिर, रोक!”
युद्धविरामको आशामा विश्वको नजर सोमबारको ती संवादहरूमा केन्द्रित छ।
प्रतिक्रिया