अध्यावधिक गरिएको : शुक्रवार राति ओहायो उपत्यका क्षेत्रभरि आएको विनाशकारी घुम्रपात (टोर्नाडो)ले अमेरिका भित्रको केन्टकी र मिजोरी राज्यहरूमा कम्तीमा २१ जनाको ज्यान लिएको छ। उद्धार टोलीहरू अहिले पनि भग्नावशेषमा जीवित मानिसहरूको खोजीमा खटिएका छन्।
केन्टकीका गभर्नर एन्डी बेशियरका अनुसार हालसम्म १४ जनाको मृत्यु भइसकेको छ भने मिजोरीमा थप ७ जनाको ज्यान गएको पुष्टि गरिएको छ।
तीमध्ये पाँचजना सेन्ट लुइस क्षेत्रका बासिन्दा थिए। यसै गरि २ जनाको भर्जिनियामा ज्यान गएको छ।
केन्टकी राज्यमा सबभन्दा बढी क्षति सोमरसेट र लन्डन क्षेत्रले भोगेका छन्। लन्डन क्षेत्रमा मात्र ९ जनाको ज्यान गएको स्थानीय अधिकारीहरूले जनाएका छन्।
राति मध्यरात अघि नै घुम्रपातले लरेल काउन्टीको लन्डन शहर छिचोलेको थियो, जसले दुईवटा आवासीय बस्ती र लन्डन–कोर्बिन विमानस्थल क्षेत्रलाई तहसनहस बनाएको छ।
लरेल काउन्टी शेरिफ कार्यालयका अनुसार “घुम्रपातले मार्गमा भीषण जनधनको क्षति गराएको” हो। मृतकहरूबाहेक कैयौं व्यक्तिहरू गम्भीर घाइते भएको जनाइएको छ। उद्धारकर्मीहरू अहिले पनि भग्नावशेषबीच जीवनका संकेतहरूको खोजीमा छन्।
यो घुम्रपातले सिंगो समुदायलाई शोकमा डुबाएको छ। संघीय तथा स्थानीय सरकारद्वारा राहत र उद्धार कार्यहरू तीव्र पारिएको छ। मौसमविद्हरूले अझै खतरा बाँकी हुन सक्ने चेतावनी दिएका छन्।
प्रतिक्रिया