इरानी राष्ट्रपति मासुद पेज़ेशकियानले अमेरिकासँगको युद्ध टार्न वार्तालाई प्राथमिकता दिएको जनाए पनि राष्ट्रपति डोनाल्ड ट्रम्पका कथित धम्कीहरूलाई उनले दृढतापूर्वक अस्वीकार गरेका छन्।
शनिबार बन्दर अब्बास शहरमा आयोजित कार्यक्रममा पेज़ेशकियानले भने, “हामी युद्ध चाहँदैनौं, संवाद र वार्ता चाहन्छौं। तर धम्कीबाट हामी डराउँदैनौं र हाम्रो कानुनी अधिकारबाट एक इन्च पनि पछि हट्दैनौं।”
ट्रम्पले मध्यपूर्व भ्रमणको क्रममा भनेका थिए, “इरान वार्तामा छिटो अघि नबढे नराम्रो हुनेछ।” यद्यपि, ट्रम्पको कुन भनाइप्रति पेज़ेशकियानले प्रतिक्रिया दिएका हुन् भन्ने स्पष्ट छैन।
ओमानको मस्कटमा अमेरिकासँग भएको चौथो चरणको परमाणु वार्ता आइतवार सम्पन्न भएको छ। नयाँ चरण कहिले हुने हो भन्ने अझै सार्वजनिक गरिएको छैन।
पेज़ेशकियानले ट्रम्पको भनाइप्रति आलोचना गर्दै भने, “शान्तिको कुरा गर्ने व्यक्ति हत्या गर्ने औजार र अस्थिरताको सन्देश पनि दिइरहेका छन्।”
त्यसै दिन इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले ट्रम्पका टिप्पणीलाई “अमेरिकी राष्ट्रकै बेइज्जती” भन्दै प्रतिक्रिया दिन लायक पनि नभएको बताए।
ट्रम्पले शुक्रबार नयाँ परमाणु प्रस्ताव दिएको दाबी गरे पनि इरानी विदेशमन्त्री अब्बास अराघ्चीले त्यस्तो कुनै लिखित प्रस्ताव नआएको स्पष्ट पारे।
अराघ्चीले भने, “शान्तिपूर्ण प्रयोजनका लागि युरेनियम प्रशोधन गर्ने अधिकार हामी कहिल्यै छाड्दैनौं।” वार्ता कठिन भए पनि दुवै पक्षले संवादलाई सकारात्मक मानिरहेका छन्।
प्रतिक्रिया