लेखक सलमान रुस्दीमाथि छुरा प्रहार गर्ने हादी मतारलाई २५ वर्ष कैद सजाय

इनेप्लिज २०८२ जेठ ४ गते १२:४२ मा प्रकाशित

सन् २०२२ मा बिश्व प्रसिद्ध लेखक सलमान रुस्दीमाथि भएको ज्यान मार्ने प्रयासको आरोपमा दोषी ठहर भएका हादी मतारलाई २५ वर्ष कारागार सजाय सुनाइएको छ। यो सजाय शुक्रवार न्यूयोर्कको चाउटोका काउन्टी अदालतमा सुनाइएको हो, जुन अधिकतम सजाय हो।

न्यु जर्सीका २७ वर्षीय मतारले २०२२ अगस्ट १२ मा न्यूयोर्कको शिटाक्वाका शैक्षिक संस्थामा सार्वजनिक कार्यक्रममा मंचमा बसेका रुस्दीमाथि अनुहार र घाँटीमा बारम्बार छुरा प्रहार गरेका थिए। उक्त आक्रमणका कारण रुस्दीको एउटा आँखा गुमेको थियो। कार्यक्रम संयोजक हेनरी रिसे पनि घाइते भएका थिए।

निर्णायक मण्डलले उनलाई दोस्रो दर्जाको हत्या प्रयास र आक्रमण अभियोगमा दोषी ठहर गरेको थियो। मतार घटनास्थलमै दर्शकहरूले समातेर मन्चमै नियन्त्रणमा लिएका थिए।

जिल्ला अभियोजन अधिकारी जेसन श्मिटले न्यायाधीशलाई १,४०० भन्दा बढी प्रत्यक्षदर्शीहरूको मानसिक आघातलाई ध्यानमा राखी अधिकतम सजाय दिन आग्रह गरेका थिए। उनले भने, “यो पूर्वनियोजित आक्रमण थियो, जसको उद्देश्य स्वतन्त्र अभिव्यक्तिमाथि आक्रमण गर्नु थियो।”

तर मतारका कानुनी प्रतिनिधि नाथानिएल बारोनले २५ वर्षको सजायलाई “कठोर र अत्यधिक” भन्दै १२ वर्षको माग गरेका थिए। उनले मतारको विगतमा कुनै आपराधिक इतिहास नभएको पनि तर्क गरे।

सजाय सुनाउने क्रममा न्यायाधीश डेभिड फोलीले मतारले दोहोर्‍याएर यस्तै हिंसात्मक कार्य गर्नसक्ने खतरा देखिएको बताए। उनले भने, “तपाईलाई फेरि यस्तो नगर्न के ले रोक्छ ?” साथै, उनले रुस्दीलाई अपमानजनक ठानेरै यस्तो स्थान छानेर आक्रमण गर्नु “धेरै चिन्ताजनक” रहेको टिप्पणी गरे।

मतारले अदालतमा कुनै पश्चाताप व्यक्त गरेनन्। बरु उनले रुस्दीलाई “दादागिरी गर्ने” र “दुईमुखे” व्यक्ति भने।

रुस्दीले अदालतमा पीडित वक्तव्य बुझाए पनि पढिएको थिएन। बचाउ पक्षले फैसलाविरुद्ध पुनरावेदनको तयारी गरिरहेको छ।

प्रतिक्रिया