“नक्कली टोली पठाएर छलफलको नाटक गर्दैछ रूस” — टर्की पुगेपछि राष्ट्रपति ज़ेलेन्स्कीको कडा चेतावनी

इनेप्लिज २०८२ जेठ २ गते ९:५७ मा प्रकाशित

टर्कीको राजधानी अङ्कारामा अवतरण गरेपछि युक्रेनका राष्ट्रपति भोलोदिमिर ज़ेलेन्स्कीले रूसको प्रतिनिधिमण्डललाई “नक्कली” भन्दै कडा टिप्पणी गरेका छन्। सम्भावित वार्ताको लागि इमान्दार प्रयास नभएको भन्दै उनले भने, “रूसमा निर्णय कसले गर्छ भन्ने कुरा हामी सबैलाई थाहा छ।”

ज़ेलेन्स्कीले भने, युक्रेनले उच्चस्तरीय प्रतिनिधिमण्डल पठाएको छ — स्वयं राष्ट्रपतिसहित विदेश मन्त्री आन्द्री सिबीहा पनि सहभागी छन्। तर, रूसले पठाएको टोलीको स्तर हेर्दा “यो नाटक मात्रै देखिन्छ।”

रुसी प्रतिनिधिमण्डलको नेतृत्व राष्ट्रपति पुटिनका प्रमुख सल्लाहकार तथा उच्च परिसद बिभाग (सुप्रिम काउन्सिल ब्यूरो) सदस्य भ्लादिमिर मेदिन्स्कीले गरिरहेका छन्। उनी २०२२ मा भएको अन्तिम प्रत्यक्ष वार्तामा पनि प्रमुख थिए। यस टोलीमा विदेश उपमन्त्री मिखाइल गलुजिन, कर्मचारी प्रमुख इगोर कोस्त्युकोभ, र उपरक्षा मन्त्री अलेक्जेन्डर फोमिन छन्।

यसबीच, रुसका विदेश मन्त्रालयकी प्रवक्ता मारिया झाखारोभाले वार्ता “टर्कीको आग्रहमा दिउँसो सारिएको” बताएकी छन्। तर युक्रेन वा टर्कीको तर्फबाट यसबारे कुनै पुष्टि आएको छैन।

ज़ेलेन्स्कीले भने वार्तामा सहभागी हुने वा नहुने निर्णय टर्कीका राष्ट्रपति रेचेप तैयप एर्दोआनसँगको भेटपछि लिनेछन्।

यसैबीच इस्तानबुलस्थित डोल्माबाहचे दरबारबाहिर दर्जनौँ पत्रकार, रूसी राज्य सञ्चारमाध्यमसमेत उपस्थित भए पनि तोकिएको समयपछि पनि केही हुन सकेन। टासले दिउँसो १० बजे वार्ता सुरु हुने भने पनि सुरक्षा कर्मीहरू समेत अन्योलमा देखिए।

प्रतिक्रिया