काठमाडौं, ३१ वैशाख
श्रममन्त्री शरतसिंह भण्डारीले पर्यटन प्रवर्द्धनका लागि भौतिक पूर्वाधार महत्त्वपूर्ण भएको बताएका छन् ।
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्ले ‘एनआरएनएको अधिकार, राष्ट्र समृद्धिको आधार’ नारासहित बुधबार काठमाडौंमा आयोजना गरेको एनआरएनए ग्लोबल कन्क्लेभ २०२५ को पर्यटन तथा नेपाली वस्तुहरुको प्रवर्द्धन सत्रलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले नेपालको पर्यटनका लागि विश्व नै बजार भएको र यसका लागि कनेक्टिभिटी महत्त्वपूर्ण भएको बताए । बजार र उत्पादन जोड्ने वितिकै बजारीकरण हुने र त्यसको लागि कनेक्टिभी महत्त्वपूर्ण भएको उनको भनाइ थियो । पर्यटनको कुरा गर्दा पूर्वाधारको विकासलाई पनि ध्यान दिनुपर्नेमा उनले जोड दिए ।
आफू सन् २०१० मा पर्यटनमन्त्री हुँदा नकारात्मक सूचीबाट नेपाल माथि उठेको र ८० हजारबाट एकै वर्षमा १० लाखको लक्ष्य लिँदा ८ लाख पर्यटन भित्र्याएको स्मरण गरे । पर्यटन प्रवर्द्धन व्यवसायीले गर्ने र सरकारले सहजीकरण गर्ने उनको भनाइ थियो ।
मन्त्री भण्डारीले पर्यटनका लागि भिजन जरुरी भएको र सहजीकरण सरकारले गर्ने, उपयुक्त वातावरण बनाउने काम आफूहरुको भएको र त्यसमा सरकार लागिरहेको बताए । पूर्वाधार लगानी, व्यवसायिकतामा लगानी, बजारको पहिचान र प्रवर्द्धनमा एनआरएनएको भूमिका हुने मन्त्री भण्डारीको भनाइ थियो । ‘जबसम्म पूर्वाधार बन्दैन । तबसम्म पर्यटन प्रवर्द्धन हुँदैन,’ उनले भने ।
सत्रमा सुदूरपश्चिममा पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले पर्यटन पाँच दशकदेखि काठमाडौं, पोखरा र चितवनमा मात्रै सीमित भएको बताए । सात प्रदेशको सात वटा सर्किट बनाउन सकिने सुझाव उनले दिए । खप्तड, रामायण सर्किटलाई प्रवर्द्धन गर्न र सुदूरपश्चिमको देवाटबी पर्यटन सर्किणलाई अगाडि बढाउन एनआरएनएलाई आह्वान गरे । नीति बनाउँदा सम्पूर्ण देशको पर्यटन क्षेत्रलाई सम्बोधन गर्न आग्रह गरे ।
क्यानका महानिर्देशक प्रदिप अधिकारीले पर्यटन प्रवर्द्धन नपुगेको बताए । नेपाल आउने टिकट महंगो हुनु पनि अर्को कारक भएको र यसमा कार्टेलिङ तोड्नुपर्ने उनले बताए । ‘जहाजको संख्या थप्ने र विमानस्थल बढाउने काम गर्नुपर्छ । त्यसको लागि गैरआवासीय नेपालीको भूमिका हुनसक्छ । साझेदारी गर्न सकिन्छ,’ उनले भने । युरोप जाने जहाज कति छ भनेर उनले प्रश्न गरे । ‘जहाजहरु सबै युरोपबाट आएको र युरोपबाटै पढेर आएको जनशक्ति भएको भन्दै दबाब नपुगेकाले गैरआवासीय नेपालीले पनि पहल गर्नुपर्ने बताए । डिजी बाहेक सबै नेपाली युरोपकै प्रोडक्ट हो । तै पनि जहाज उड्दैन,’ उनले भने । नकारात्मकताले पनि पर्यटन प्रवर्द्धनमा असर परेको उनको भनाइ छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आइकाओबाट सर्टिफाइड भन्दै भैसी दौडाएको देखाएको भाइरल बनाएर खत्तम भयो भन्ने बनाइएको गुनासो गरे । उनले पर्यटन प्रवर्द्धनमा आफ्नो ठाउँबाट भूमिका खेल्न एनआरएनएलाई आह्वान गरे ।
नेपाल पर्यटन बोर्डका सुनिल शर्माले पर्यटन प्रवर्द्धन प्राविधिक विषय भएको बताए । पर्यटन प्रवर्द्धन उच्च कुटनीतिक कौशलता पनि भएको उनको भनाइ थियो । पर्यटनको छोटो कोर्स निर्माण गरेर संस्कृति, इतिहास के हो भनेर अध्ययन गर्ने वातावरण बनाउन उनले गैरआवासीय नेपाली संघलाई अपिल गरे । कोर्स निर्माणका लागि सहकार्य गर्न उनले आग्रह गरे । ‘तीन दिनको कोर्स बनाउ । एनआरएनएहरुलाई पढाउ । नेपालको संस्कृति, इतिहासबारे जानकारी दिउ । बुझाउ । एनआरएन भनेको अनौपचारिक दूत हो । त्यसैले यसमा सहकार्य गरौं,’ उनले भने ।
होटल एसोसिएसन अफ नेपालका सिइओ टेकेन्द्र महतले पर्यटन केन्द्रित रहेको भन्दै एनआरएन जन्मिएको जिल्ला जिल्ला पुर्याउन सके विकेन्द्रिकरण हुने बताए । यसले पर्यटनमा विविधता हुने उनको भनाइ छ । आफ्नो ज्ञान सीप पुँजी यसमा लगाउन उनले अनुरोध गरे । पर्यटन ऐनमा एनआरएनएलाई पनि समेट्नुपर्ने, संयन्त्र बनाउनुपर्ने, लगानीमा साझेदारी हुनेगरी साझा सहकार्यबाट अगाडि बढ्नुपर्ने बताए । कनेक्टिभिटीमा पनि गैरआवासीय नेपालीको सीपलाई प्रयोग गर्नुपर्ने र अनुभव आदानप्रदान गर्ने संयन्त्र बनाउनुपर्नेमा जोड दिए ।
पोर्चुगलका लागि वाणिज्य दूत राजेन्द्र खेतानले निजी क्षेत्र र एनआरनएन मिलेर ट्रेडको सन्दर्भमा साना, मझौला र ठूला उद्योगका उत्पादनहरु गर्न सकिने बताए । ‘सरकारको गुणस्तर राखेर सुरुवात गर्यो भने निर्यात गर्न सकिन्छ । यसमा सरकार र निजी क्षेत्र तयार रहेको छ । नेपालका लद्युवित्त आमा समूहहरुले उत्पादन गर्छ । निर्यात हुन्छ । यो प्याकेजमा कुरा गर्नुपर्छ,’ उनले भने । पोखरा र भैरहवामा कार्गो फ्लाइटलाई लैजान सकिने उनले सुझाए । ‘ट्रेडका विज्ञहरु हामीसँग छन् । ति व्यक्तिहरुलाई एकत्रित गरेर साझा रुपमा जान तयार छौं,’ उनले भने ।
पूर्वराजदूत मोहनकृष्ण श्रेष्ठले नेपालजस्तो ६ प्रकारको हावापानी विश्वमै नभएको बताए । तर पर्यटन र व्यापार उभो नलागेको गुनासो गरे । बजेटको कमीले नियोगहरुले पर्यटन प्रवर्द्धन गर्न नसकिएको उनले सुनाए । इच्छाशक्ति भए गर्न सकिने सम्भावना अझै रहेको उल्लेख गर्दै हावापानीअनुसारको महंगो सामान उत्पादन गरेर व्यवहार गर्न सकिने बताए । एनआरएनएले अब कुटनीतिज्ञलाई पनि आफ्नो अभियानमा समावेश गराउनुपर्ने सुझाव उनले दिए ।
संस्थाकी सचिव टीका गुरुङले व्यापार विस्तारका साथै स्वदेशी उत्पादन प्रवर्द्धन गर्ने अभिभारा गैरआवासीय नेपालीको रहेको भन्दै कार्यप्रस्तुति गरेकी थिइन् । उपाध्यक्ष विनोद श्रेष्ठले छलफलका विषयहरु व्यवहारमा लागु हुने अपेक्षा गरे ।
सत्रको सञ्चालन संघको उपमहासचिव तथा पर्यटन प्रवर्द्धन विभाग प्रमुख सोम सापकोटाले गरेका थिए ।
प्रतिक्रिया